वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू, मगर, गुरुङ र नेवारी समुदायका विभिन्न परिकारहरू राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।
दाङ — दंगीशरण गाउँपालिका-३ चखौरामा 'घुमघाम, रैथाने स्वाद अनि संगीतको धुमधाम' भन्ने मूल नारासहित रैथाने खाना महोत्सव सुरु भएको छ ।
वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू, मगर, गुरुङ र नेवारी समुदायका विभिन्न परिकारहरू राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् । लोपोन्मुख बन्दै गएको परम्परागत खानपान, भेषभूषा र संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरिएको उनले बताइन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले शुक्रबार महोत्सवको उद्घाटन गर्दै 'हराउँदै गइरहेका रैथाने खानालाई व्यावसायिक रूपमा विकास गर्नुपर्ने आवश्यकता' औंल्याए । रैथाने परिकारलाई पर्यटन र व्यवसायसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौंमा नेवार समुदायबाट रैथाने परिकारको संरक्षण र प्रवर्द्धन सुरु भएको उल्लेख गर्दै उनले अहिले राजधानीबाहिर पनि यस्तो अभियान विस्तार हुनु सकारात्मक रहेको बताए । यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले रैथाने खानालाई रोजगारी र अर्थतन्त्रसँग जोड्न सके यसको संरक्षणमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
पर्यटन डिभिजन कार्यालय बाँकेका वरिष्ठ अधिकृत कृष्णबहादुर विष्टले महोत्सवको उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकलाई शुद्ध रैथाने परिकारको स्वाद चखाउने रहेको बताए । पुर्खादेखि चलिआएका परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्दै विशेष गरी थारू रैथाने परिकारलाई अघि बढाउने लक्ष्य रहेको जानकारी दिए ।
महोत्सवमा थारू समुदायका मौलिक परिकारको प्रदर्शन तथा बिक्री गरिनुका साथै विभिन्न समुदायका परम्परागत नाच, गीत र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भइरहेका छन् ।
