दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लबबीच हुँदै छ ।
नेपालगन्ज — जेबिएम फुटबल एकेडेमी लखनउ बाँकेको खजुरामा जारी एमटी एरिना खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
खजुरा–४ डी गाउँस्थित मिनी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
जेबिएमका जर्सी नम्बर ७ का निखिल तामाङले खेलको १२ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरे । यसैगरी जेबिएमकै ९ नम्बरका सुरज भण्डारीले ४३ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६० औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
गोर्खाका जर्सी नम्बर १५ का सुजन थारुले सान्त्वना गोल गरे । दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएमले सम्हालिएर खेल्दै अग्रता जोगाउन सफल भएको थियो ।
गोर्खाका जर्सी नम्बर २१ का उमेश थापाले पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । जेबिएमका गोलरक्षक उमेशकुमार प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबीच हुँदै छ । प्रतियोगिताको फाइनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।
न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, संकटा एफसी, न्यू डाँफे स्पोर्टस् क्लब, जेभिएम फुटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।
नकआउट आधारमा खेलाइएको प्रतियोगिता वैसाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले ७ लाख तथा उपविजेता टिमले नगद ४ लाख पाउनेछन् ।प्रतियोगितामा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
