पुथाउत्तरगंगा गाउँपालिका छुट्याएर नयाँ पालिकाको माग

भौगोलिक कठिनाइ, सेवा प्रवाह र विकास पूर्वाधारका लागि पुथाउत्तरगंगा गाउँपालिकालाई छुट्याउनुपर्ने माग फेरि उठेको छ ।

वैशाख ५, २०८३

महेश केसी

Demand for a new municipality by separating Puthauttarganga Rural Municipality

What you should know

रुकुम पूर्व — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका छुट्टयाएर छुट्टै पालिका बनाउन माग गरिएको छ । विगतदेखि नै यस विषयमा कुरा उठ्दै आएकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र गरेपछि यो विषय सतहमा आएको हो ।

'स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ मा भएको व्यवस्थाका आधारमा गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित गर्न आवश्यक भएको' उल्लेख गर्दै गत बिहीबार संघीय मामिला मन्त्रालयले पत्राचार गरेको थियो । सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवालालाई एकमुष्ट सम्बोधन गरेर ‘राय/सुझाव सम्बन्धमा’ गरिएको पत्राचारपछि पुथाउत्तरगंगा गाउँपालिका छुट्टयाएर छुट्टै नयाँ पालिका बनाउने मागलाई अधिकारिकता दिने आशा जागेको पालिका प्रवक्तासमेत रहेका ५ नं. वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

Demand for a new municipality by separating Puthauttarganga Rural Municipality

हाल १४ वडा रहेको यस पालिकाको वडा नं. १ देखि ६ सम्म र ९ नम्बर गरी ७ वटा वडालाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग विगतदेखि उठ्दै आएको आएको छ ।

‘पुथा र उत्तरगंगालाई दुई फरक–फरक पालिका बनाउने विषयमा अघिल्लो कार्यपालिकादेखि नै विभिन्न चरणमा छलफल भइरहेको देखिन्छ । अहिले पनि हामीले सुरुदेखि नै आफ्नो ठाउँबाट यो विषय उठाउदै आएका छौं,’ वडाध्यक्ष घर्ती भन्छन्, ‘संघीय मामिला मन्त्रालयबाट गाउँपालिकाको सिमाना हेरफेर र पुनरावलोकन गर्ने विषयमा तयार पारिएको मापदण्डमा सुझाव मागिएपछि अब नयाँ पालिका कायम हुने आशा बढेको छ । अब हामी यसमा आवश्यक प्रक्रिया पूरा गरेर अघि बढ्ने सोचमा छौं ।’ 

बिहीबार मन्त्रालयले लेखेको पत्रका साथमा 'गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३' को प्रारम्भिक मस्यौदासमेत समावेश गरी ‘कुनै राय/सुझाव भएमा ३ दिनभित्र इमेल गर्न’ भनिएको छ । 

संघीयतापछि साबिक रुकुमबाट छुट्टिएर रुकुम पूर्व नयाँ जिल्लाका रुपमा स्थापित भएको थियो । यस जिल्लामा हाल पुथाउत्तरगंगासहित सिस्ने र भुमे गरी ३ गाउँपालिका रहेका छन् । भौगोलिक दृष्टिले पालिका र वडाको दुरी टाढा भएको र शिक्षा, स्वास्थ्य र सडकजस्ता विभिन्न विकास पूर्वाधारको पनि समान वितरण हुन नसकेको भन्दै सुरुदेखि नै पुथाउत्तरगंगा गाउँपालिकालाई दुईवटा छुट्टाछुट्टै पालिका बनाउने प्रयास भएको वडा नं. २ का संस्थापक अध्यक्ष सतसिंह बुढाले बताए । 

‘पुथा र उत्तरगंगा दुईवटा फरक–फरक पालिका हुने भन्ने प्रयास सुरुदेखि नै भएको थियो । पछि माथिबाटै यो दुईवटा नाम जोडेर एउटै गाउँपालिका भएर आयो,’ उनले भने, ‘हाम्रो यो पेल्मा (वडा नं. २) बाट पालिका जान एक दिन लाग्छ । बर्खामा त २ दिनमा पनि पुग्न पुग्न मुस्किल पर्छ । जिल्ला सदरमुकाम त झन् धेरै टाढा छ । यसकारण सेवा प्रवाहलाई सहज बनाउन र विकास गर्नका लागि यो भेग छुट्टै गाउँपालिकाका रुपमा हुनुपर्छ ।’

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले अहिले उक्त मस्यौदामाथि सुझाव मागिएको स्पष्ट पार्दै गाउँपालिकाको अवस्थाको समेत विश्लेषण गरी पठाउने बताए । ‘मस्यौदा आएपछि पालिका तथा वडाको सिमाना पुनरावलोकन हुने आशा बढेको छ । यसकारण हामी हाम्रो पालिकाको अवस्था समेत विश्लेषण गरेर आवश्यक सुझाव दिने तयारी गरिरहेका छौं,’ उनले भने ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully