बुटवल वाणिज्य संघले भन्यो : फुटपाथ व्यवस्थापनका काम व्यवसायीमैत्री हुनुपर्छ

व्यवसायीका अन्य ३ संस्थाले पनि बुटवल उपमहानगरपालिकामा भएको धरपकडको विरोध गर्दै जफत गरिएका सामान फिर्ताको मागसमेत माग गरेका छन् ।

वैशाख ५, २०८३

घनश्याम गौतम

Butwal Chamber of Commerce says: Sidewalk management work should be business-friendly

What you should know

बुटवल — बुटवल वाणिज्य संघले बुटवल उपमहानगरपालिकाले सडक फुटपाथ व्यवस्थित गर्ने क्रममा व्यवसायीमाथि गरिएको धरपकडको विरोध गरेको छ । फुटपाथ व्यवस्थापनको काम आवश्यक भए पनि जबर्जस्त गर्ने कामले थप द्वन्द्व सिर्जना गर्ने र संघले त्यस्तो ज्यादती सहन नसक्ने स्पष्ट पारेको छ ।  

बुटवल वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिवृद्धि गर्ने र आवागमन सहज बनाउने कुरा सकारात्मक रहेको र त्यसमा बुटवल उद्योग वाणिज्य संघको पनि प्रतिबद्धता रहेको जनाएका छन् । तर, त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रस्ट पारेका हुन् । बुटवल उपमहानगरपालिकाले बुधबारदेखि बजार क्षेत्रका मुख्य सडक तथा भित्री भागका फुटपाथ र सडक पेटी व्यवस्थापन गर्ने भन्दै घरका पेटी तथा फुटपाथमा राखिएका सामग्रीहरू उठाउन र फुटपाथ अतिक्रमण गरेर निर्माण गरिएका पेटी भत्काउन सुरु गरेको थियो ।

बुधबार, बिहीबार र शुक्रबार निरन्तर अभियान चलाएको नगरपालिकाले शनिबार र आइतबार दुई दिनका लागि स्थगित गरेको थियो । 

वाणिज्य संघ र उद्योगी व्यवसायीका विभिन्न संघ संस्थाले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिकाको अभियान सकारात्मक भए पनि त्यस क्रममा गरिएका व्यवहार गलत भएको ठहर गरेको छ । ‘अभियान सञ्चालनका क्रममा नगर प्रहरीबाट भएको ज्यादतीले व्यवसायीहरूमा त्रास सिर्जना गरेको छ,’ अर्यालले भने, ‘नगरपालिकाले व्यवसायीहरूलाई धम्काएर र तर्साएर नभई सम्झाउने, बुझाउने र सहजीकरण गर्दै सडक सौन्दर्यकरण गर्नुपर्ने दिशामा अघि बढोस् । फुटपाथ खाली गराउने अभियान व्यवसायीमैत्री हुनुपर्छ । त्यसमा व्यवसायी सहयोग गर्न तयार छन् ।’ अभियानका क्रममा नगर प्रहरीले जफत गरेका मालसामान फिर्ता गर्न पनि उनले माग गरेका छन् । 

त्यस्तै, शनिबार नै रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले पनि संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरूले बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीहरूको सहजीकरण गर्न सडक पेटी खाली गरी कार्यान्वयनमा सहजीकरण गर्न व्यवसायीहरू प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।

तर, उपमहानगरपालिकाले बुटवल बजार क्षेत्रका अमरपथ, बीपी चोक, राम मन्दिरलाइन, अस्पताललाई, भुड्कीचोक लगायतका केही क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा बलपूर्वक तरिकाले गरिएको कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ‘व्यवसायीहरूका सटर, पिलरभित्रका सामानसमेत बिना कुनै लेखाजोखा उठाएर लैजाने तथा सटरमासमेत क्षति पुर्‍याउने एवं अस्थायी पाली तथा पसलको चिनारी साइन बोर्डसमेत जफत गर्ने कार्य उपमहानगर र संघसंस्थाबीच भएको सहमतिको उल्लंघन भएको ठहर गरेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै बुटवल उपमहानगरपालिकालाई पेटी तथा अस्थायी पालीको स्पष्ट मापदण्ड तयार गर्न र सटर परिसरबाट लगिएका सम्पूर्ण सामानहरू सम्बन्धित व्यवसायीलाई अविलम्ब फिर्ता गर्न माग गर्दछौँ ।’ विज्ञप्तिमा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका लोकनाथ पन्थीले हस्ताक्षर गरेका छन् । 

उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै १५ दिन अघि सूचना जारी गरेर र तीन दिनदेखि माइकिङ गर्दै सर्वसाधारणलाई जानकारी दिएको थियो । तर, व्यवसायी र घरधनीहरूले अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबारदेखि फुटपाथ खाली गराउन सुरु गरेको थियो । पहिलो र दोस्रो दिन आक्रामक देखिएको नगरपालिका तेस्रो दिन शुक्रबार भने नरम देखिएको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully