बुटवल उपमहानगरले सुरु गर्‍यो सडकपेटी खाली गराउने अभियान

बुधबार भुड्कीचोकमा डोजर चलाएको नगरपालिकाले आज पनि बिहानैदेखि सडकपेटीमा राखिएका सवारी साधन उठाउँदै

वैशाख ३, २०८३

घनश्याम गौतम

Butwal Sub-metropolitan City launches campaign to clear roadsides

What you should know

बुटवल — बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थित गराउन, सडक पेटी खाली गराउने र जथाभावी राखिएका एवं पार्किङ गरिएका सवारी साधन उठाउन सुरु गरेको छ । मोटरसाईक, स्कुटी रिकन्डिसन व्यवसायीहरुले पैदल यात्रुका लागि निर्माण गरिएको सडकमै राखेर व्यापार गर्ने गरेको गुनासो गरेपछि नगरपालिकाले बुधबारदेखि सडक खाली गराउने र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने अभियान सुरु गरेको हो । 

बुधबार बुटवलको सबै भन्दा व्यस्त सडक भुड्कीचोकमा डोजर चलाएर सडक पेटी अतिक्रमण गरिएका घर भत्काएको उपमहानगरले बिहीबार पनि बिहानैदेखि सडक पेटीमा राखिएका सवारीसाधनहरु त्रेनको प्रयोग गरेर उठाउन थालेको छ । उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरि सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै तीन दिनदेखि माइकिङ गर्दै सर्वसाधरणलाई जानकारी दिएको थियो । तर, व्यवसायी र घरधनीहरुले अटेरी गर्दै आएका थिए र सर्वसाधरणले पनि फुटपाथमै सामान राखेर व्यवसायी गर्दै आएका थिए । 

पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि डोजर चलाउन बाध्य भएको र यो अभियान बुटवलका सबै बजार क्षेत्रमा निरन्तर रहने बुटवल उपमहानगरपालिकाका प्रमुख  खेलराज पाण्डेले बताए । ‘बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म नै सडकको फुटपाथ कब्जा गरि व्यवसाय गर्ने परिपाटीको विकास हुँदै गयो,’ उनले भने, ‘त्यसैले बाध्य भएर कसैको अनुहार नहेरी डोजर चलायौं ।’ 

Butwal Sub-metropolitan City launches campaign to clear roadsidesसर्वसाधरण सडकपेटीबाट सुरक्षित रुपमा पैदल हिंड्न पाउने अधिकार सुनिश्चित गर्ने र बुटवल बजारलाई व्यवस्थित गर्ने उद्देश्यसहित नगरपालिकाले अभियान सुरु गरेको उनले बताए । डोजर लगाउँने क्रममा पूर्वपश्चिम राजमार्गको ८२ फुट भित्रैको सडकमै सेफ्टीटंयाक्नी निर्माण गरेको समेत फेला परेको उनले बताए । 

फुटपाथ र सडक किनार कब्जा गरी थापिएका पसलका कारण अस्पताल लाइन, भुड्की चोक, पुष्पलाल पार्क सबैभन्दा बढी अस्तव्यस्त बनेको थियो । त्यस्तै बसपार्कदेखि कालिकानगरसम्म रहेको पूर्वपश्चिम राजमार्गको सर्विस लेन खण्डमा रिकण्डिसन व्यवसायीहरुका कारण सवारी आवतजावत र सर्वसाधरणको पैदल यात्रा नै अबरुद्ध हुने गरेको थियो ।

नगरपालिकाले त्यस्ता सबै स्थानमा डोजर चलाउने र सवारी साधन नियन्त्रणमा लिएर नगरपालिकामै लैजान सुरु गरेको नगरउपप्रमुख सावित्रा आचार्यले बताईन् । डोको र ठेलामा राखिएका तरकारी, फलफूल र कपडा पसलका कारण बिरामी लिएर आउने एम्बुलेन्सलाईसमेत अस्पताल भित्र छिर्न अवरोध हुने गरेको थियो । ‘त्यसैले पहिलो चरणमा अस्पताल लाईन र भुड्कीचोकमा डोजर चलाईएको हो,’ उनले भनिन्, ‘अभियान बिहीबार पनि जारी छ ।’ 

Butwal Sub-metropolitan City launches campaign to clear roadsidesभुड्की चोकमा वर्षौंदेखि सडक कब्जा गरी भुड्की पसल सञ्चालन गरिएका थिए ।  अस्पताललाईनको आकाशे पुलअगाडि फुटपाथमै कपडा पसलदेखि मेडिकल र फोटो एवं फोटोकपी व्यवसाय पनि सञ्चालनमा थिए । नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरीसहितको सहयोगमा ती सबै संरचना भत्काएको हो । अभियानमा नगरप्रमुख पाण्डे, उपप्रमुख आचार्यसहित अधिकांश जनप्रतिनिधहरु आफैं उपस्थित भएका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully