तौलिहवा र चन्द्रौटामा सुनका गहना चोरी तथा ठगीमा संलग्न रहेको आरोपमा पाकिस्तानी राहदानीसहित दुई महिला पक्राउ परेका छन् ।
What you should know
कपिलवस्तु — सुनका गहना चोरी र ठगीको आरोपमा कपिलवस्तुबाट दुई पाकिस्तानी महिला पक्राउ परेका छन् ।
सदरमुकाम तौलिहवा र प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा भएका चोरी र ठगीका घटनामा संलग्न आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया बेबी कसमुल र ४१ वर्षीया सर्वना पक्राउ परेका हुन् । उनीहरुसँग पाकिस्तानी राहदानी बरामद भएको छ ।
चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुनका गरगहना खरिद गर्ने भन्दै विभिन्न किसिमका गहना हेर्दै व्यवसायीलाई अल्मल्याई ३८ लालको एक जोडा सुनको झुम्का चोरेर भागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । चोरीपछि पसलबाट बाहिर निस्किदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए ।
पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा पुगेर खोजी गरेका थिए । केही पर उनीहरु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उनीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको थियो । त्यसअघि ती महिलाले सदरमुकाम तौलिहवास्थित एक पसलमा ठगी गरेर भागेका थिए ।
पसलमा उनीहरुले थोरैमात्रामा सुन भएको गहना दिएर झुक्कयाई बढी मात्रा सुन भएको गहना लगेका थिए । उनीहरुले ७५ प्रतिशत सुन भएको भन्दै सिक्री र दुई जोडी कानमा लगाउने झुम्का दिएर पसलेसँग अर्को झुम्का लिएका थिए । पसलमा साटेको झुम्का साथीलाई देखाएर आउँछु भनेर बाहिर गएपछि फर्किएनन् ।
लगत्तै चन्द्रौटामा भएको चोरीको घटना सार्वजनिक भएपछि तौलिहवाका पसलेले महिलाले दिएको सुन जाँच गर्दा गहनामा ७ प्रतिशत सुन रहेको थाहा पाएपछि ठगिएको भन्दै प्रहरीमा उजुरी दिन गएका थिए ।
बुटवलको योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूले नगद देखाउँदै गहना किन्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ । उनीहरुसँग नेपाली १० देखि १ हजार रुपैयाँका नोट गरी ८६ हजार ४० नगद पनि बरामद भएको छ । त्यस्तै १० रुपैयाँ दरका ३ वटा पाकिस्तनी मुद्रा पनि बरामद भएको छ ।
प्रहरीले दुवै महिलामाथि चोरी र ठगीमा अनुसन्धान गरिरहेको छ । एक महिना नेपाल बस्ने भिसा रहेका ती महिला २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म उनीहरुको भिसा म्याद छ । अदालतबाट बुधबार ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ । उनीहरु के प्रयोजनका लागि नेपाल आए भन्ने अनुसन्धान भइरहेको छ । उनीहरुले प्रष्टसँग हिन्दी बोलेर पसलमा कारोबार गर्ने गरेका थिए ।
