पानी छ्यापाछ्याप गरेर मनाइयो थाई नयाँ वर्ष

ठूलाबडासँग आशीर्वाद लिएर सानालाई करुणा, मैत्रीभाव र मायाले भरिपूर्ण सद्भाव राख्दै राजकीय थाई विहारमा नयाँ वर्ष मनाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक सिरी बजिरले बताए ।

वैशाख ३, २०८३

मनोज पौडेल

Thai New Year celebrated by splashing water

What you should know

काठमाडौँ — नेपालीले नयाँ वर्ष २०८३ लाई स्वागत गरिरहँदा थाई नागरिकले पनि थाई परम्पराअनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा आफ्नो नयाँ वर्ष सोङ्क्रान मनाएका छन् । 

थाइल्यान्डमा बितेको वर्षमा भएका दुःखपीडा बिर्सने, मनमा उत्साह एवं उमंगका साथ खुसी साटासाट गर्ने र वृद्धवृद्धा तथा परिवारलाई सम्मान गर्ने उत्सवका रूपमा सोङ्क्रान पर्व मनाइन्छ । 

ठूलाबडासँग आशीर्वाद लिएर सानालाई करुणा, मैत्रीभाव र मायाले भरिपूर्ण सद्भाव राख्दै राजकीय थाई विहारमा नयाँ वर्ष मनाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक सिरी बजिरले बताए । उक्त अवसरमा भिक्षु–भिक्षुणी, गुरुमा र आनीले पवित्र पानी छ्यापाछ्याप गरेर सोङ्क्रान पर्व मनाएका हुन् । 

लुम्बिनीको शान्ति दीपनजिक रहेको बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक विधिपूर्वक नुहाइदिएर पवित्र बनाइएको थियो । डेढ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर भिक्षु–भिक्षुणी र उपासक–उपासिकाले बेबी बुद्धको पाउ धोएर पवित्र बनाएका थिए । त्यसपछि भिक्षु–भिक्षुणीले पुष्पवर्षा गरे ।

समग्र मानव जीवन र प्राणीको सुख शान्ति र कल्याणका लागि परित्रान पाठ गरियो । थाई नयाँ वर्षले सबैमा नयाँ आशा, सफलता र खुसी ल्याओस् भन्दै हर्ष र उमंगको वर्ष बनोस् भन्ने कामना गरी नयाा वर्ष मनाइएको लुम्बिनीस्थित महाबोधी सोसाइटी कलकत्ताका लुम्बिनी शाखा प्रमुख भिक्षु विनन्द थेरोले बताए । 

रोयल थाई विहारमा सुगन्ध र फूल मिसाइएको पवित्र पानी छ्यापेर एकआपस सद्भाव, करुणा र मैंत्री साटासाट गरिएको थियो । थाइल्यान्डमा राष्ट्रिय रूपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ३ देखि ७ दिनसम्म नयाँ वर्ष मनाइने परम्परा छ । त्यसैअन्तर्गत यहाँ कार्यक्रम गरेर शान्तिका अनुयायी भिक्षु–भिक्षुणीले मनाएका हुन् ।Thai New Year celebrated by splashing water

सोङ्क्रान उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष भनेको पानी छ्यापाछ्याप गर्दै शरीर र मनको मैलो र फोहर हटाउँदै आपसी सद्भाव र मैंत्री साट्नु भएकाले रमाइलो हुने लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख फ्रा राजबोधी विदेश वजिराशुद्धिले बताए । रंग नराखेको पानीमा सुगन्ध र फूल राखेर छ्यापाछ्याप गरी उत्सवमा रमाउने गरिन्छ । 

नेपाल र थाइल्यान्डले सँगसँगै नयाँ वर्षलाई उत्सवका रूपमा मनाउनुले दुवै मुलुक सांस्कृतिक रूपले पनि नजिक रहेको भिक्षु–भिक्षुणीहरूले बताए । यसले आपसी मित्रता, एकता र सद्भाव अझ कसिलो बन्दै दुवै देशले शान्तिका लागि मिलेर काम गर्नुपर्ने अवसरका रूपमा सदुपयोग गर्नुपर्ने भारत र नेपालका लागि थाइल्यान्ड सरकारका धर्मदूत फ्रा थम्म बोधीओङले बताए । उत्सवमा लुम्बिनीस्थित चीन, म्यानमार, श्रीलंका, कम्बोडिया, भारत, जर्मनी र भियतनाम लगायत मुलुकका भिक्षु–भिक्षुणी सहभागी थिए । 

पहिले हिन्दु चार्डपर्व मानिने सोङ्क्रान समय परिवर्तनसँगै बुद्धिष्टहरूको उत्सवमा परिणत भएको हो । अहिले थाइल्यान्डमा सोङ्क्रान विदेशी पर्यटकका लागि मुख्य आकर्षण बनेको छ । सोङ्क्रानलाई युनेस्कोले समेत नेतृत्वदायी विश्वव्यापी महोत्सवका रूपमा मन्यता दिएको छ । अझ युनेस्को–सूचीबद्ध सांस्कृतिक सम्पदाका रूपमा सन् २०२६ को उत्सवलाई विश्वव्यापी महासोङ्क्रान कार्यक्रमका रूपमा ब्रान्डिङसमेत गरिएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully