बेपत्ता दुई युवाको कालीगण्डकी नदीमा शव भेटियो 

नयाँ वर्ष मनाउन कालीगण्डकी नदीको दैलातुङ गएका बेला पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए ।

वैशाख ३, २०८३

माधव अर्याल

Bodies of two missing youths found in Kaligandaki River

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–७, खानीगाउँस्थित कालीगण्डकी नदीमा मंगलबार डुबेर बेपत्ता भएका दुई युवाको शव भेटिएको छ ।

बगनासकाली गाउँपालिकाकै वडा नम्बर ९ को चन्द्र माध्यमिक विद्यालयका शिक्षक झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन) बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् भने बगनासकाली गाउँपालिका–९, चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसालको शव बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नयाँ वर्ष मनाउन कालीगण्डकी नदीको दैलातुङ गएका बेला पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएपछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको स्थानीय कृष्ण प्रसाद भुसालले बताए । निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी होमप्रकाश चौधरीले बताए । 

मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएको स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले कालीगण्डकी नदी किनारमा खोजतलास गरेको थियो । 

वेपत्ता बस्याल चन्द्र मावि चापपनीमा इन्जियिनरतर्फका शिक्षक हुन् । भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए ।  दुबै जना एउटै टोलका भएकाले चापपानी, झिरभन्ज्याङमा शोक छाएको छ । प्रहरीले नदी तथा जोखिमयुक्त स्थानमा जाँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully