आधुनिक भवनमा सर्‍यो भैरहवा हाटबजार

खुला स्थानमा सञ्चालन हुँदै आएको हाटबजार बिहीबारदेखि पाँच तल्ले सामुदायिक कृषि भवनमा स्थानान्तरण गरिएको छ।

वैशाख ३, २०८३

माधव ढुंगाना

Bhairahawa market moved to a modern building

What you should know

भैरहवा — भैरहवा–खुल्ला स्थानमा वर्षौंदेखि अव्यवस्थित ढंगले लाग्दै आएको भैरहवाको कृषि हाटबजार बिहीबारदेखि अत्याधुनिक सामुदायिक कृषि भवनमा स्थानान्तरण भएको छ ।

हाटबजार स्थानान्तरण भएसँगै सञ्चालनमा आउन नसकेर वर्षौंदेखि अलपत्र परेको करोडौं लागतको सिद्धार्थनगर नगरपालिकाको पाँच तल्ले ‘ए ब्लक’ सामुदायिक कृषि भवन पनि प्रयोगमा आएको छ ।

दुई साताअघि सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले वैसाख ३ देखि हाटबजार स्थानान्तरण गर्ने निर्णय गर्दै वैसाख २ सम्म निवेदन दिन हाटबजारका व्यवसायीलाई आव्हान गरेको थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सामुदायिक कृषि भवन निर्माण गरिएको उद्देश्य अनुरुप हाटबजारलाई स्थानान्तरण गरी व्यवस्थापन गरिएको बताए ।

‘स्थानान्तरण हुन निवेदन आव्हान गरेपछि व्यवसायी एकाएक उत्साहित देखिए,’ थापाले भने, ‘पहिलो चरणमा कृषि उपजका बस्तुलाई प्राथमिकतासाथ स्थानान्तरण गरेका छौं र क्रमशः हाटबजारमा उपलब्ध हुने अन्य बस्तुलाई पनि स्थानान्तरण गरिने छ ।’

थापाका अनुसार आफ्नो व्यवसाय कृषि सामुदायिक भवनमा सञ्चालन गर्न ३ सय भन्दा धेरै व्यवसायीले निवेदन दिएका थिए ।

कृषि उपजबाहेक हाटबजारमा उपलब्ध हुने माछामासु, इलेक्ट्रोनिक सामान, जुत्ताचप्पल, कृषि औजार, कपडा व्यवसाय, ठेलालगायतका व्यवसायलाई पनि नगरपालिकाले हाल निर्माणाधीन कृषि सामुदायिक भवन अर्न्तगतको बी ब्लकको भवनमा स्थानान्तरण गर्ने योजना छ ।

छरिएर रहेका कृषि उपजलाई एकै स्थलबाट उपलब्ध हुने गरी हाटबजार स्थानान्तरण गर्ने लक्ष्यले  नगरपालिकाले ११ करोड १७ लाख रुपैयाँ खर्चिएर ए ब्लकको कृषि सामुदायिक भवन निर्माण गरेको थियो ।

तर, व्यवसायी जान नमानेपछि उद्घाटन गरेको चार वर्ष बित्न लाग्दा पनि उक्त भवन प्रयोगमा आउन नसकेर अलपत्र परेको थियो ।  

वर्षौंदेखि मालपोत कार्यालय अगाडि आइतबार र बिहीबार दुई दिन लाग्ने भैरहवा हाटबजारले सडक आवागमन नै अवरुद्ध हुने गरेको थियो ।

बिगत २५ वर्षदेखि हाटबजारमा कृषि उपजको व्यापार गर्दै आएका सिद्धार्थनगर–१० दोगहरीका जनार्दन मुराउ सामुदायिक भवनमा व्यवसाय गर्न पाउँदा निकै खुसी छन् । ‘खुल्ला ठाउँमा व्यापार गर्दा बर्खामा ओत लाग्ने ठाउँ हुन्थेन र जमेको पानी तर्काउँदै व्यापार गर्नुपर्थ्यो,’ मुराउले भने, ‘शौचालय जानु परे पनि उस्तै समस्या हुन्थ्यो ।’

सामुदायिक कृषि भवनमा व्यवसाय गर्नेहरुलाई असारसम्म कुनै पनि शुल्क नलिने र त्यसपछि व्यवसायीले अधिकतम सहुलियत पाउने गरी विकल्पमा निर्णय गर्ने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully