कालीगण्डकी नदीमा बेपत्ता दुई मध्ये एक युवा मृत अवस्थामा फेला 

मंगलबार नयाँ वर्षका दिनमा साथीभाईसंग कालीगण्डकी नदीमा गएका बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल (मदन) मृत अवस्थामा भेटिएका हुन् ।

वैशाख २, २०८३

माधव अर्याल

One of two youths missing in Kaligandaki River found dead

पाल्पा — पौडी खेल्दा पाल्पाको कालीगण्डकी नदीको बगनासकाली गाउँपालिका–७, दैलातुङमा बेपत्ता दुई मध्ये एक जना बुधबार मृत फेला परेका छन् । अर्का एक जनाको खोजीकार्य जारी छ । 

मंगलबार नयाँ वर्षका दिनमा साथीभाईसंग कालीगण्डकी नदीमा गएका बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल (मदन) मृत अवस्थामा भेटिएका हुन् । उनको शव कालीगण्डकी नदीको बीच भागमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता ३९ वर्षीय शरण भुसालको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार करिब ५ बजेको समयमा पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएको स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले कालीगण्डकी नदी किनारमा खोजतलास गरेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले बताए । 

बुधबार बिहानैदेखि कालीगण्डकी नदीमा पुनः खोजीकार्य जारी रहेको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङ्का स्थानीय कृष्ण भुसालले जानकारी दिए । वेपत्ता बस्याल चन्द्र मावि चापपनीमा इन्जियिनरतर्फका शिक्षक हुन् । भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully