नेपाल–अंग्रेज युद्धका क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइँमा विजय प्राप्त गरेको दिनलाई स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्षको वैशाख ७ गते विजय उत्सवका रूपमा मनाउँदै आएको छ ।
पाल्पा — नेपाली सेनाले गोरखा–जितगढी एकीकरण मार्गअन्तर्गत पाल्पामा बुधबारदेखि ६ दिने पदयात्रा सुरू गरेको छ । चैत २७ गते गोरखा दरबारको हनुमानभञ्ज्याङबाट सेनाले पदयात्रा सुरू गरेको हो ।
पदयात्राको टोलीलाई नेपाली सेनाको २२ नम्बर बाहिनीका प्रमुख तथा सहायक रथी विमलराज शर्मा, महीन्द्र दल गणका प्रमुख शान्तकुमार थापा, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलगायतले पाल्पा र स्याङ्जाको सिमाना केलादीमा स्वागत गरेको छ ।
नेपाली सेनाको स्थापनाकालका पाँच कम्पनीको झण्डा र विजयदीप पाल्पास्थित दी फेमस महीन्द्र दल गणलाई हस्तान्तरण गरेको छ । टर्च, राष्ट्रिय झण्डा, नेपाली सेनाका प्रथम ५ कम्पनी श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दबहादुर र कालीबक्स तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित यात्रा गरिएको छ ।
पाल्पाका गढी तथा किल्लाहरूमा नेपाली सेनाले १६१ किलोमिटर पदयात्रा गर्नेछ । रामपुर नगरपालिकाको केलादी घाटबाट सुरू भएको पदयात्रा पूर्वखोलाको वाकुमगढी, हात्तीलुङको माथागढी, तानसेन नगरपालिकाको प्रवास (तानसेन) र तिनाउ गाउँपालिकाको जितगढी (नुवाकोट पाल्पा) सम्म पदायत्रा गर्नेछ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पहिचान गर्न चौथोपटक पदयात्रा गरेको हो ।
एकीकरण पदयात्रामा रामपुर नगरपालिकास्थित केलादी घाटबाट सुरू भएर नुवाकोट (तिनाउ, पाल्पा) मा वैशाख ७ गते सकिनेछ । टोलीमा ५३ जना रहेका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधिले ठाउँठाउँमा स्वागत तथा बिदाई गर्ने गणपति थापाले बताए ।
रामपुरको केलादीदेखि सुरु भएर लक्ष्मीनारायणको ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, बीरकोट हुँदै बुधबार बाकुमगढीमा पुग्ने कार्यक्रम छ ।
बाकुमगढीबाट ताँहु, हुमीन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी पुग्नेछ । यस्तै, माथागढीबाट हर्नेटार (झडेवा), मरमरा, सिकारकोट (कसेनी), दमार, एक्लेबर सराई, दमकडा (तानसेन) भएर प्रवासमा बस्नेछ । चौथो दिनमा प्रवासदेखि बर्तुङ तानसेन, रणउजीरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवाबाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने नेपाली सेनाको दी फेमस महीन्द्र दल गणले जनाएको छ । अन्तिम दिनमा नुवाकोटदेखि जितगढीसम्मको यात्रा गरेर समापन हुनेछ ।
पदयात्राले नेपाली सेना र स्थानीय जनताबीचको सम्बन्ध सुमधुर हुने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । नगरपालिका र गाउँपालिकाले स्वागत, सत्कार, सम्मान, सांस्कृतिक झाँकी प्रदर्शन र पदयात्रामा सहभागिता जनाएका थिए । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्नमा स्थानीय तहले चासो दिने विश्वास लिइएको छ ।
नेपाल–अंग्रेज युद्धका क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइँमा विजय प्राप्त गरेको दिनलाई स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्षको वैशाख ७ गते विजय उत्सवका रूपमा मनाउँदै आएको छ । यात्राले गढी, किल्ला, दरबार तथा एकीकरण दौरानमा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्बर्द्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । जितगढी किल्लामा १८७२ वैशाख ७ मा नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहास छ ।
