स्थानीय खानाका परिकारले सबैलाई आकर्षित तुल्याएको थियो । झण्डै १५ हजार दर्शकले एकै दिनमा गुफाचौरको महोत्सव अवलोकन गरेका छन् ।
What you should know
पाल्पा — नयाँ वर्ष २०८३ को पहिलो दिन पाल्पाको श्रीनगर, टुँडिखेल र गुफाचौरमा खाना महोत्सव आयोजना गरिएको छ ।
पर्यटकीय स्थलका रूपमा विकास हुँदै आएको तानसेन नगरपालिका–१० तेल्घाको गुफाचौरमा दोस्रो खाना तथा पर्यटन महोत्सव आयोजना गरिएको हो । तानसेनको टुँडिखेलमा तीनदिने खाना महोत्सव तथा सांस्कृतिक महोत्सव राखिएको छ ।
रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरवनाथ मन्दिर, तानसेनको भगवती मन्दिर, रामपुरका विभिन्न मठमन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो । वैशाखे संक्रान्तिका अवसरमा कालीगण्डकी नदीमा समेत स्नान गर्नेको भीड लागेको थियो । नयाँ वर्षको स्वागतमा पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलहरूमा भेला हुने, नाचगान गर्ने, रैथाने खानाका परिकार खाने गरेका छन् । पारिवारिक जमघट गर्ने, पिकनिक जानेले पर्यटकीयस्थल भरिभराउ भएका छन् ।
तानसेन नगरपालिका–१०, तेल्घाको गुफाचौरमा स्थानीय समुदायले कला संस्कृति जगेर्ना गर्न नयाँ वर्षका अवसरमा खाना तथा पर्यटन महोत्सव आयोजना गरेको हो । गुफाचौरमा तेल्घा, मस्याम, बन्दीपोखरा लगायतका स्थानबाट स्थानीय परम्परागत खानाका परिकार बटुक, सेलरोटी, चुकाउनी, मेवाको अचार प्रदर्शनी तथा बिक्री गरिएको थियो । यस्तै सिन्की अचार, गिठाको अचार, काप्रो, कोइरालको अचार, तरुल, फापरको फुराउला लागयत महोत्सवमा राखिएका थिए ।
गुफाचौरमा पाल्पाबाहेक गुल्मी, रूपन्देही, नवलपरासी, कपिलवस्तु र अर्घाखाँचीबाट समेत दर्शक आएका थिए । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य माधवबहादुर थापाले वर्तमान सरकार पहिलो चारणमा सुशासनका लागि अग्रसर भएको बताए । उनले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए । आगामी दिनमा गुफाचौरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि सहकार्य गर्दै अघि बढ्ने उनले बताए । संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले तानसेनदेखि नजिकै रहेको गुफाचौरलाई पर्यटकीय स्थल बनाउन १२ वर्षदेखि पहल गर्दै आएको बताए । उनले गुफाचौरलाई नजिकको पर्यटकीय गन्तव्य बनाउन होमस्टेका साथै पर्यटकीय पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताए ।
तानसेन नगरपालिका–१०, का वडाध्यक्ष हिमलाल पंगेनी, गुफाचौर खाना तथा पर्यटक महोत्सव आयोजक कमिटीका अध्यक्ष कृष्णबहादुर रानाले आगामी दिनमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पहल गर्दै यहाँ ठूलो गणेशको मूर्ति राख्ने योजना रहेको बताए । गणेशको मूर्ति भने १० वर्षदेखि वडा कार्यालयनजिक राखिएको छ । महोत्सवमा महिला तथा पुरुष समूहको पञ्चेबाजा, लोक तथा दोहोरी गायिका शान्तारानी परियार, लोक गायक रूपेश कार्की लगायतले महोत्सवमा नचाए । मगरी संस्कृतिमा आधारित झाम्रे लगायत नाचका साथै कला केन्द्रको प्रस्तुति रहेको स्थानीय आयोजक समितिका सदस्य सन्तोष बस्यालले बताए ।
स्थानीय खानाका परिकारले सबैलाई आकर्षित तुल्याएको थियो । झण्डै १५ हजार दर्शकले एकै दिनमा गुफाचौरको महोत्सव अवलोकन गरेका छन् । तानसेनको टुँडिखेलमा पनि सांस्कृतिक कार्यक्रमका साथै कलाकारको प्रस्तुति रहेको थियो । बटुक, सेलरोटी, चुकाउनी लगायत स्थानीय परिकार पकाएको हेर्दै खाने अवसर मिलेको थियो । श्रीनगरडाँडामा पनि पाल्पा लगायत छिमेकी जिल्लाबाट समेत पर्यटक आएका थिए ।
