बेरोजगारको संख्या पत्ता लगाउँदै तथ्यांक कार्यालय

‘नेपाल श्रमशक्ति सर्वेक्षण’ को स्थलगत कार्य २०८२ फागुन २८ गतेबाट सुरू भएको छ ।

वैशाख १, २०८३

आरती पौडेल

Statistics Office finding out the number of unemployed

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले बेरोजगारको संख्या पत्ता लगाउने उद्देश्यले सर्वेक्षण गर्दै आएको छ । ‘नेपाल श्रमशक्ति सर्वेक्षण’ को स्थलगत कार्य २०८२ फागुन २८ गतेबाट सुरू भएको छ ।

तथ्यांक संकलन प्रक्रिया अगाडि बढेको र यसको मुख्य उद्देश्य देशमा रोजगारी र बेरोजगारीको वास्तविक अवस्था कस्तो छ भनेर मापन गर्नु रहेको तथ्यांक कार्यालयको सामाजिक तथ्यांक महाशाखाका निर्देशक मनोहर घिमिरेले बताए । उनले भने, ‘यसको मुख्य उद्देश्य बेरोजगारीको अवस्था कस्तो रहेको छ भन्ने हो,’ उनले भने, ‘फागुन महिनादेखि नेपाल श्रमशक्ति सर्वेक्षण (चौथो) सञ्चालन भइरहेको छ । यो सर्वेक्षण फागुन २०८२ को अन्त्यदेखि २०८३ को फागुन मसान्तसम्म वर्षभरि नै चल्नेछ ।’

हाल कर्मचारीहरू डेटा संकलनका लागि फिल्डमा खटिइरहेका घिमिरेले जनाएका छन् ।रोजगारीमा रहेको मौसमी प्रभावको असरलाई हटाउन वर्षभरि उक्त सर्वेक्षणमार्फत तथ्यांक संकलन गरिने छ ।

तथ्यांक कार्यालयका अनुसार उक्त सर्वेक्षण चौथो पटक नेपाल श्रमशक्ति सर्वेक्षण सुरु गरिएको हो । पहिलो पटक आर्थिक वर्ष २०५५/५६ मा भएको थियो । त्यसैगरी दोस्रो पटक आर्थिक वर्ष २०६४/६५ मा र तेस्रो पटक आर्थिक वर्ष २०७४/७५ मा श्रमशक्ति सर्वेक्षण गरिएको थियो ।

यसअगाडि २०७४/७५ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको थियो । यस्तै २०७९/८० मा गरिएको नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा अनुसार मुलुकमा बेरोजगारी दर १२.६ प्रतिशत रहेको छ । सोह्रौँ योजनाले योजनाको अन्त्य २०८५/८६ सम्ममा बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

मुलुकको रोजगारीको अवस्थाबारे यथार्थ जानकारी दिन यो सर्वेक्षण निकै उपयोगी हुने घिमिरेले जनाएका छन् । यसबाट प्राप्त नतिजा तीन तहका सरकार, अध्येता, अनुसन्धानकर्ता लगायत सबैलाई उपयोगी हुने घिमिरेले बताएका छन् ।

चौथो श्रमशक्ति सर्वेक्षणमा सात प्रदेशका ग्रामीण र सहरी क्षेत्र तथा काठमाडौं उपत्यकाको सहरी क्षेत्र गरी १५ वटा विश्लेषणात्मक क्षेत्रको श्रमसम्बन्धी सूचक प्राप्त हुने गरी नमुना छनोट गरिएको कार्यालयले जनाएको छ । सर्वेक्षणका लागि ९२० प्राथमिक इकाईबाट २०–२० घरपरिवार छनोट गरी कुल १८ हजार चार सय घरपरिवारसँग प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्यांक संकलन गरिनेछ । छनोट परेका क्षेत्रमा मात्र तथ्यांक संकलन गरिने कार्यालयले जनाएको छ ।

गत फागुन २८ बाट सुरु भएको उक्त सर्वेक्षण आगामी २०८३ फागुन मसान्तसम्म सञ्चालन हुनेछ । यो अवधिमा मुलुकभर छनोटमा परेका घरपरिवार र घरपरिवारका सदस्यको श्रम, रोजगार र अन्य सामाजिक तथा जनसांख्यिक विवरण संकलन गरिनेछ ।

संकलित तथ्यांकको विश्लेषणपछि सर्वेक्षणको नतिजा २०८४ सालको भदौ महिनामा प्रकाशन गर्ने लक्ष्य राखिएको घिमिरेले जनाएका छन् ।

यस क्रममा ब्यारेक, छात्रावास जस्ता संस्थागत घरमा सामूहिक रूपमा एउटै मेसमा खाना खाने घरपरिवार, विदेशी कूटनीतिक नियोगभित्रका घरपरिवार, शरणार्थी शिविरमा सोधिएका व्यक्तिगत विवरण भने गोप्य राखिने घिमिरेले बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको श्रम तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्ने यो एक प्रकारको घरपरिवार सर्वेक्षण हो । उक्त सर्वेक्षणबाट सन्दर्भ अवधिको रोजगारी, बेरोजगारी, बेरोजगारी दर, अर्धबेरोजगारी, श्रमको अल्पउपयोग, बालश्रम, बाध्यकारी श्रम जस्ता महत्त्वपूर्ण श्रम तथ्यांक उपलब्ध हुनेछन् ।

नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्यांक संकलनका लागि राष्ट्रिय तथ्यांक कार्यालयबाट खटिने कर्मचारीलाई सहयोग गर्नु सबैको कर्तव्य रहेको जनाउँदै, सर्वेक्षण सफल बनाउन सम्पूर्ण व्यक्ति, संस्था तथा समुदायलाई कार्यालयले अनुरोध समेत गरेको छ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully