पेट्रोलियम पदार्थको भाउ बढेसँगै पाल्पाका निर्माण व्यवसायीले मजदुर घटाउँदै काममा कटौती गरिरहेका छन्, ठूला आयोजना ठप्प हुन सक्ने चेतावनी छ।
What you should know
पाल्पा — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर निर्माण व्यवसायमा परेको छ । व्यवसायीले निर्माण मजदुरको संख्या कटौती गर्दै लगेका छन् ।
इरान–अमेरिका, इजरायल द्वन्द्वको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण व्यवसायीहरु कामै रोक्ने भन्दा कामदार घटाउनेतर्फ अग्रसर देखिएका हुन् ।
निर्माण व्यवसायी संघ पाल्पाका महासचिव राजेन्द्र केसीका अनुसार मूल्यवृद्धिले कुनै पनि काम अघि बढाउनै नसक्ने भएकाले कामदारको संख्या पनि घटाउँदै लगिएको हो । ‘एक महिना अघिसम्म ५०/६० कामदार राखेका व्यवसायी अहिले ५/७ जना राखेर काम गर्नु परेको छ,’ उनले भने, ‘काम गराउनै नसक्ने अवस्था आयो।’
डिजेलमा भएको मूल्यवृद्धिले हरेक निर्माणको क्षेत्रमा असर परेको उनले बताए । आन्तरिक बजारको अस्थिरताले निर्माण सामग्रीमा व्यवसायीले गरेको अनियन्त्रित मूल्यवृद्धिले थप असर गरेको महासचिव केसीले बताए ।
यस्तै अवस्था अझ केही दिन रहने हो भने पाल्पाका निर्माण आयोजना ठप्प हुने स्थिति आउने संघका पाल्पा अध्यक्ष दामोदर गैरेले बताए । संघले तानसेनमा पत्रकार सम्मेलन राखेर वर्तमान परिस्थितिलाई ‘निर्माण आपतकाल’ घोषणा गर्नुपर्ने बताएको छ ।
पछिल्लो समयमा भएको इन्धन, अलकत्रा, सिमेन्ट, फलामजन्य सामग्री, गिट्टीबालुवामा भएको अप्रत्याशित मूल्यवृद्धिले व्यवसायी मर्कामा परेको अध्यक्ष गैरेले बताए । उनले व्यवसायीलाई म्याद थपको व्यवस्थामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइएको बताए ।
उनले डिजेल, पेट्रोल र मट्टीतेल जस्ता इन्धनजन्य पदार्थमा पटक–पटक भइरहेको मूल्यबृद्धिले ढुवानी र उत्पादन लागतलाई थेग्नै नसक्ने अवसथमा पुर्याएको बताए । भाउ बढ्दा र क्रसर उद्योगमा देखिएका समस्याले निर्माण सामग्रीको चरम अभाव भएको अध्यक्ष गैरेले बताए ।
सरकारले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गरी व्यवसायीलाई राहत दिनुपर्नेमा संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर कार्कीको जोड छ । जिल्लाका कालीगण्डकी करिडोर, सडक निर्माणका लागि लागेका ठेक्का, भवन निर्माणलगायतका काममा अहिले असर गरेको उनले बताए ।
मूल्यवृद्धिका कारण जिल्लाका ठूला योजनाको काम रोक्नुपर्ने अवस्था सिर्जना भएको र विद्यमान कानुनी व्यवस्थाबाट मात्रै वर्तमान संकट समाधान नहुने संघका जिल्ला महासचिव केसीले बताए । सरकारले तत्काल मूल्य समायोजन मार्ग निर्देशिका जारी गर्नुपर्ने उनले बताए । ‘निर्माण व्यवसायीहरुको मागलाई बेवास्ता गरेमा निर्माण कार्य पूर्णरूपमा रोकिनेछ,’ उनले भने, ‘समयमै सजग गराएका छौं । यसमा सरकारको ध्यान पुगोस् भन्ने हो ।’ नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले विकास निर्माणका काम रोकिँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण र राज्यको पुँजीगत खर्चमा पर्ने बताए ।
