सुपा देउराली मन्दिरमा एकै दिन ४५ हजार तीर्थालु

नयाँ वर्ष मनाउन, दर्शन र भाकल गर्न आउने तीर्थालुको संख्या एकै दिन ४५ हजार २ सयभन्दा बढी रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य एवं सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए ।

वैशाख १, २०८३

वीरेन्द्र केसी

45,000 pilgrims visit Supa Deurali Temple in a single day

What you should know

अर्घाखाँची — धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा नयाँ वर्षको पहिलो दिन घुम्न र दर्शन गर्न आउने तीर्थालुको संख्या उल्लेख्य रहेको छ । मंगलबार बिहानैदेखि साँझसम्म धार्मिक पर्यटकको घुँइचो लागेको हो । 

मन्दिरमा भारत र नेपालका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेरै भित्रिएका थिए । नेपालका एक सय गन्तव्यमध्ये सुपादेउराली मन्दिर एक हो । 

नयाँ वर्ष मनाउन, दर्शन र भाकल गर्न आउने तीर्थालुको संख्या एकै दिन ४५ हजार २ सयभन्दा बढी रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य एवं सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए । जसबाट २ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको छ ।  ‘नयाँ वर्षको पहिलो दिन सुपा देउराली मन्दिरको दर्शन गरेपछि ३ सय ६५ दिन नै शुभ हुन्छ, काम सफल र राम्रो हुन्छ भन्ने धार्मिक विश्वास छ,’ उनले भने, ‘निजी गाडी, सार्वजनिक सवारी, बस, मिनीबस, ईभीसहितका गाडी रिजर्भ गरेर भित्रिए । हरेक वर्ष मन्दिरको महिमा बढ्दो छ ।’ 

दर्शक गर्न आएका भक्तजनका सवारी साधनलाई व्यवस्थित गरिएको थियो । गाडीलाई मन्दिरदेखि दुई किमि टाढा नै पार्किङ गरी राखिएको थियो । ट्राफिक जाम नगराउन सन्धिखर्क क्षेत्रमा सुपा खेला र शितगंगा क्षेत्रको लाहुरे टाँसेको ठाउँतिर गाडी पार्किङ गरेर राखी तीर्थालुलाई पैदल मार्गबाट मन्दिरमा ल्याइएको उनले बताए । तीर्थालुले घण्टौं लाइनपछि मन्दिरमा दर्शनका लागि पालो पाएका थिए ।

यो मन्दिर सन्धिखर्क नगरपालिका–७ खाँचीकोट र शितगंगा नगरपालिका–२ सीतापुरमा पर्छ । ट्राफिक व्यवस्थापन र तीर्थालुलाई सहज मन्दिर दर्शन गर्न सशस्त्र र जनपद प्रहरी परिचालन एवं पानी वितरण गरिएको उनले बताए । अधिकांश परिवार नै गाडी रिजर्भ गरेर दर्शन गर्न आएका थिए । 

नयाँ वर्षमा धेरै भीड र अरू दिन दैनिक एक हजार जनाको संख्यामा तीर्थालु भित्रिने गरेको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । मन्दिरदेखि दुई किमि नजिकै रहेको चिसो ठाउँ नरपानी–सुपा देउराली क्षेत्रमा पर्यटकीय पूर्वाधार र धर्मशाला भवन लगायतका काम गर्न थप योजना बनाइने उनले बताए । 

‘यसको धार्मिक महत्त्व बेग्लै छ,’ उनले भने, ‘वर्षदिन परिवारमा सुख शान्ति होस् र काममा सफलता मिलोस् भन्ने कामना गर्न र भाकल पूरा गर्न धेरै भक्तजन भित्रिएका हुन । तराई र भारतमा यतिबेला गर्मी हुने भएकाले नयाँ वर्षको दिन पहाडमा गर्मी छल्न, घुम्न र मन्दिर दर्शन गर्न भित्रिनेको संख्या हरेक वर्ष बढ्दो छ ।’ सन्धिखर्क नगरपालिका–६ को नरपानीमा यहाँ आएका पर्यटकलाई सस्तो र सहज बसाइका लागि १२ वटा होमस्टे पनि सञ्चालनमा छन् । 

दर्शन गर्न झापाबाट आएका विनोद सिग्देलले नयाँ वर्षको दिन सुपा देउरालीको मन्दिर दर्शन गरेपछि वर्षभरि सुखशान्ति, खुसी र काममा प्रगति मिल्ने विश्वास रहेको बताए । ‘साथीले भनेर र समाचारमा मन्दिरका बारेमा पढेर आएको हुँ,’ उनले भने, ‘धार्मिकसँगै घुमफिरको यात्रा पनि भयो । यहाँ आएर दर्शन गर्दा, अग्ला पहाड हेर्दा र घुम्दा मन शान्त र आनन्द लाग्यो ।’ 

उनले दर्शन गर्दा आफ्नोसहित देशको अर्थतन्त्र बलियो बनोस्, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई सफलता मिलोस्, रोजगारीकै लागि युवाहरु खाडी मुलुक धाउनुपर्ने बाध्यतामा कमी आओस् भनेर प्रार्थना गरेको उनले बताए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully