नदी तथा खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने कार्य गैरकानुनी तथा अत्यन्त जोखिमपूर्ण भएकाले यस्ता गतिविधि नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ
पाल्पा — खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा घाइते भएका ३८ वर्षीय खुमबहादुर सुनारीको मृत्यु भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका र नवलपरासीको मध्यविन्दु नगरपालिका–१४, राइकोटेको सिमाना अरुणखोलामा माछा मार्ने क्रममा पाल्पाको निस्दी गाउँपालिका–५, गल्धा गेझाका ३८ वर्षीय सुनारी घाइते भएका थिए । सुनारीको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनारीको कोखा, दाहिने खुट्टा र बाँया हातमा गम्भीर चोट लागेको थियो । अचेत अवस्थामा रहेका सुनारीलाई प्रहरीले उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । सोही स्थानका ३५ वर्षीय रोमनसिंह खरु मगरसमेत घाइते छन् । घाइते खरु मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । नदी तथा खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने कार्य गैरकानुनी तथा अत्यन्त जोखिमपूर्ण भएकाले यस्ता गतिविधि नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ । पछिल्लो समय खोलामा बारुदजन्य पदार्थ, ब्याट्री, तथा विभिन्न माध्यमबाट करेन्ट प्रयोग गरी माछा मार्ने गरिएको छ । स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयले यसमा ध्यान नपुग्दा यस्ता घटना बारम्बार भइरहेको हो ।
