संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका हुन् ।

चैत्र ३०, २०८२

दुर्गालाल केसी

Federal government cannot give direct instructions to provincial and local governments: Chief Minister Acharya

What you should know

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक निर्देशन जारी गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा तुलसीपुरमा सोमबार भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको पनि स्पष्ट पारे ।

उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताए ।‘संविधानले निर्दिष्ट गरेका हकअधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उनले भने ।

आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको ध्यानाकर्षण गराए । उनले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग पनि गरे । उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पुर्‍याउने अग्रज तथा सामाजिक अभियन्ताहरूप्रति सम्मान व्यक्त गरे । उनले तुलसीपुरको विकास अग्रजहरुको योगदानका कारण सम्भव भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए । संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको उल्लेख गर्दै पछिल्लो सात-आठ वर्षको उपलब्धिको समग्र मूल्यांकन आवश्यक रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कमल सुवेदी, निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा नगरवासीहरूको उल्लेख्य सहभागिता थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully