दाउन्ने सडक खण्डको निरीक्षणमा पुगे गृहमन्त्री गुरुङ 

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले योजनाअनुसार छिटोभन्दा छिटो काम सम्पन्न गर्न सरकारी निकाय र ठेकेदार पक्षलाई निर्देशन दिएका छन् ।

चैत्र २९, २०८२

नवीन पौडेल

Home Minister Gurung inspects Daunne road section

परासी — गृहमन्त्रीले सुधन गुरुङले विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डअर्न्तगत दाउन्ने क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । दाउन्ने खण्डमा हुने जाम र सवारी साधन सञ्चालनमा भइहेको असहजताबारे जनगुनासो आएपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा आएका हुन् । 

सो क्रममा मन्त्री गुरुङले योजनाअनुसार छिटोभन्दा छिटो काम सम्पन्न गर्न सरकारी निकाय र ठेकेदार पक्षलाई निर्देशन दिएका छन् । सरकारी पक्षबाट हुनुपर्ने काम तत्काल हुने र ठेकेदारले कुनै पनि बहाना नबनाइ जनशक्ति थप गरेर छिटो काम सम्पन्न गर्न निर्देशन दिए । 

दाउन्ने खण्डमा सामान्य वर्षामा पनि हिलो र सडकको अवस्था राम्रो नहुँदा घण्टौंसम्म जाम परेर यात्रुले सास्ती खेप्दै आएका छन् । 

यस खण्डमा सडक ढलान भइरहे पनि समयमै काम सम्पन्न नहुँदा ७ वर्षदेखि यात्रुहरूले सास्ती भोग्दै आएका छन् । 

गृहमन्त्री गुरुङले आजै नवलपुरस्थित चौधरी उद्योगग्रामबाट निस्कने फोहोर पानी व्यवस्थापनको पनि अनुगमन गरेका छन् । उद्योगको फोहोरो पानी सही तरीकाले व्यवस्थापन नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । यस्तै, नजिकै रहेको मध्यवर्ती वनका जनावरलाई समेत उक्त पानीले असर पुर्‍याएमा फोहोरपानी व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully