लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ५० शय्याको नयाँ अस्पताल भवनको आइतबार उद्घाटन गरेका हुन् ।
रुकुम पूर्व — जिल्ला सदरमुकाम रुकुमकोटमा निर्माण गरिएको रुकुम पूर्व जिल्ला अस्पताल भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ५० शय्याको नयाँ अस्पताल भवनको आइतबार उद्घाटन गरेका हुन् ।
सिस्ने गाउँपालिका–५ मा अवस्थित अस्पताल भवन २०७८ सालमा निर्माण सुरु भई गत पुसमा निर्माण सम्पन्न भएको थियो । संघीयतापछि रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि २०७४ यता साविकको इलाका स्वास्थ्य कार्यालयको भवनबाटै जिल्ला अस्पतालको सेवा संचालन भैरहेको थियो । अब यो भवन बनेपछि कार्यालयको सेवा प्रवाह पनि सहज बनेको छ ।
यसको औपचारिक उद्घाटन गरिएको भए पनि करिब २ साताअघिदेखि यस भवनबाट सेवा भने सुरुवात गरिसकिएको अस्पतालले बताएको छ । जिल्ला अस्पताल ५० शय्याको हुनुपर्ने भए पनि भौतिक एवम् प्राविधिक जनशक्ति अभावका कारण विगतमा १५ शय्यासम्मको सेवा दिँदै आएकामा यो नयाँ भवनमा ५० शय्याकै लागि संरचना बनेको छ । तर हाल यसबाट पनि ३०–३५ शय्यासम्मको सेवा दिन सकिने अस्पताल प्रमुख डा. कृष्ण खरालले बताए ।
अस्पतालको भवन पर्याप्त पुग्ने बनेको भए पनि स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरण र दक्ष जनशक्तिको भने अपर्याप्तता रहेको भन्दै परिपूर्तिका लागि सरोकारवाला सबैले आवश्यक पहल हुनुपर्ने कुरामा डा. खरालको जोड छ ।
