सट्टेबाजीमा संलग्न तीन महिलासहित २० जना पक्राउ

पक्राउ पर्नेमा दुई जना नेपाली र १८ जना भारतीय नागरिक छन् । प्रहरीले अनलाइन वेटिङमा प्रयोग हुने विभिन्न सामान पनि उनीहरूको साथबाट बरामद गरेको छ ।

चैत्र २९, २०८२

माधव ढुंगाना

20 people, including three women, arrested for betting

What you should know

भैरहवा — अनलाइन सट्टेबाजीमा संलग्न भारतीय नागरिकसहित २० जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना महिला पनि छन् । 

चैत १९ र २७ गते रूपन्देहीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो । चैत १९ गते पक्राउ परेकाहरूसँगको सोधपुछबाट थप व्यक्ति पत्ता लागेपछि पुनः चैत २७ गते अन्यलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा दुई जना नेपाली र १८ जना भारतीय नागरिक छन् । प्रहरीले अनलाइन वेटिङमा प्रयोग हुने विभिन्न सामान पनि उनीहरूको साथबाट बरामद गरेको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ बाट ९ जना र तिलोत्तमा–१५ कोटिहवाबाट ११ जना पक्राउ परेका हुन् । तिलोत्तमा–७ बाट पक्राउ पर्नेमा भारतीय नागरिक ३० वर्षीय प्रदीप गुप्ता, २२ वर्षीय पवन कुमार, २० वर्षीय सतिश कुमार, २१ वर्षीय मनुकुमार सोनी, २१ वर्षीय अमर कुमार, २१ वर्षीय नर सिंह, २४ वर्षीय रामअशिस सिंह, ३१ वर्षीय सुदीप तो माझी र २२ वर्षीय अविशेष ठाकुर छन् । 

उनीहरूको साथबाट ल्यापटप ३ थान, मोबाइल २० थान र हिसाब राख्ने गरेको रजिस्टर ५ थान बरामद गरिएको रूपन्देही जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

प्रहरीले तिलोत्तमा–१५ कोटिहवाबाट चैत २७ गते ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुमार, ४३ वर्षीय एमडी हाकिम, २६ वर्षीय सतेन्द्र सिंह, ३६ वर्षका श्याम सुन्दर, २४ वर्षीय दीपक पाण्डे, ३२ वर्षीय रियाज अहमद, ३५ वर्षीय प्रदीप कुमार, ३६ वर्षकी तन्नु कुमारी र ३८ वर्षकी राखी झा छन् । ्

रूपन्देहीको ओमसतिया गाउँपालिका–१ बस्ने ३४ वर्षका अकलेशकुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा–१५, कोटिहवा बस्ने ३८ वर्षकी सीमा राना रहेको डीएसपी चन्दले जनाए । 

उनीहरूको साथबाट भारतीय विभिन्न बैंकहरूको चेक बुक २३ बन्डल, विभिन्न बैंकका एटीएम कार्डहरू २५ थान, नेपाली नगद ९१ हजार ७ सय २५ रुपैयाँ, भारतीय पासपोर्ट १ थान, स्ट्याप्प छाप ३ थान, पेनड्राइभ ३ थान, विभिन्न कम्पनीका २१ वटा मोबाइल, विभिन्न कम्पनीका ल्यापटप ६ थान, भारतीय विभिन्न व्यक्तिका आधार कार्ड ३० थान र जेटीएफ कम्पनीको राउटर १ थान बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully