समुद्र सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको बुकी पाटनमा थरीथरीका गुराँस फुलेका छन् । त्यस क्षेत्रमा हिउँ परेकाले अहिले पदयात्रीका लागि थप रमाइलो वातावरण रहेको छ ।
What you should know
रोल्पा — जिल्लामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रोल्पाको उवामा गुराँस पदयात्रा गरिएको छ । थबाङ गाउँपालिका–४ उवास्थित बुकी पाटनमा उक्त वडा कार्यालयको आयोजनामा तीनदिने पदयात्रा गरिएको हो ।
थवाङ–४ का वडाध्यक्ष हिक्मत घर्ती मगरले चैत २६ देखि २८ सम्म गुराँस क्षेत्रमा पदयात्रा गरिएको बताए । ‘नयाँ वर्षको सन्दर्भमा यस वर्ष तीनदिने पदयात्रा गरिएको हो,’ उनले भने, ‘वैशाख महिनाभर पदयात्रालाई प्रोत्साहन गरिनेछ ।’
समुद्र सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको बुकी पाटनमा थरीथरीका गुराँस फुलेका छन् । त्यस क्षेत्रमा अहिले हिउँ परेकाले पदयात्रीका लागि थप रमाइलो वातावरण रहेको उनले बताए ।
थबाङ–४, घोराबाङस्थित वडा कार्यालयबाट पदयात्रा सुरु गरिएको थियो । यहाँका बुकी चौर र गुराँसे जंगल पदयात्रीका लागि आकर्षणका रूपमा रहेका छन् । यसक्रममा बुकी पाटन क्षेत्रमा पदयात्री पुर्याउनुका साथै उनीहरूको रमाइलोका लागि विभिन्न प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
स्थानीय प्रसिद्ध जलाकी क्षेत्रबाट पदयात्रा सुरु गरिएकाले रमाइलो महसुस गरेको थबाङस्थित शिक्षक गोविन सहयात्रीले बताए । गुराँसको बगैंचा भनेर चिनिने बाङ खर्कमा पदयात्री धेरै रमाएको उनले बताए । जन्तरे, घल्धारे र माथिल्लो उवाका विभिन्न रमणीय क्षेत्रमा पुगेर यात्रीले आनन्द अनुभूति गरेको उनको भनाइ छ । उनका अनुसार यात्राका क्रममा कविता र भिडियो प्रतियोगिता आयोजना गरिएको थियो ।
गुराँस क्षेत्र प्रवर्द्धन वडा कार्यालयले गत वर्षदेखि पदयात्राको आयोजना गर्न थालेको हो । रोल्पा, रुकुम पूर्व र बागलुङ जिल्लाको सीमानामा पर्ने बुकी क्षेत्र र गुराँस फुलेको हेर्नेको बर्सेनि संख्या बढ्दै गएको छ । यस क्षेत्रमा पाइने अनेकौं प्रकारका गुराँस र जडीबुटीहरू, वन्यजन्तुहरू र आकर्षक बुकी पाटनप्रति युवाको आकर्षण बढेको छ । उवाको बुकी क्षेत्रमा आयोजना हुने गुराँसे पदयात्राले आन्तरिक एवं बाह्य पर्यटक वृद्धि गरेको पर्यटन व्यवसायी बाल्कुराम पुनले बताए ।
