सडक किनारमा मकै पोलिरहेकी पूर्वनगर उपप्रमुख भन्छिन् – ‘श्रम गरेर खान केको लाज ?’

पाँच वर्ष जनप्रतिनिधि भएर सेवा गरेकी उनले किसानको छोरी भएकाले पदमा पुगे पनि श्रम गर्न नछाड्ने बताइन् । ‘पदमा बस्दा भ्रष्टाचार गरिनँ, कसैसँग मागेर र चोरेर पनि खाएकी छैन,’ उनले भनिन्, ‘श्रम बेचेर खान लाज मान्ने कुरै छैन, जति ठूलो पदमा पुगे पनि किसान भएकाले श्रम गरेर खाँदा खुसी नै लाग्छ ।’

चैत्र २८, २०८२

कमल पन्थी

The deputy mayor of Purbanagar, who is harvesting corn on the roadside, says, ”What's the shame in working hard to eat?”

What you should know

बर्दिया — पूर्वनगर उपप्रमुख पदमा नभए पनि पार्टीको काममा भ्याइ–नभ्याइ हुनुपर्ने हो । तर, जिल्लाको मधुवन नगरपालिकाकी पूर्वउपप्रमुख शुभरानी थारु अहिले सडक किनारमा मकै पोलेर बिक्री गर्न व्यस्त छिन् । मधुवन–४, माचर चोकमा प्रत्येक दिन उनी मकै पोलेर बिक्री गर्छिन् । चोकमा उनले मकै पोलिरहेका बेला ग्राहकको भीड लाग्ने गरेको छ । 

अहिले मकैको याम भएकाले पोलेर बिक्री गरिरहेको उनले बताइन् । यस बाहेक पशुपालन र तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको उनी बताउँछिन् । तत्कालीन माओवादी केन्द्रबाट नगर उपप्रमुख निर्वाचित उनी अहिले पार्टी परिवर्तन गरेर एमालेबाट प्रदेश कमिटी सदस्य छन् । आफ्नो १० कट्ठा जग्गामा मकै खेती गरेकी छन् । सँगै तरकारी र अन्य बाली पनि  लगाएकी छन् । 

उनका परिवारमा ११ सदस्य छन् । सबै जना साथै बस्ने गरेका छन् । पाँच वर्ष जनप्रतिनिधि भएर सेवा गरेकी उनले किसानको छोरी भएकाले पदमा पुगे पनि श्रम गर्न नछाड्ने बताइन् । ‘पदमा बस्दा भ्रष्टाचार गरिनँ, कसैसँग मागेर र चोरेर पनि खाएकी छैन,’ उनले भनिन्, ‘श्रम बेचेर खान लाज मान्ने कुरै छैन, जति ठूलो पदमा पुगे पनि किसान भएकाले श्रम गरेर खाँदा खुसी नै लाग्छ ।’

मधुवन–४ की उनले मकै बेचेर दिनमा २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् । व्यवसायसँगै उनी राजनीति पनि गर्छिन् । तत्कालीन माओवादी कार्यकर्ता भएर उनले पार्टीको काम गरेकी थिइन् । माओवादीसित विचारले मेल नखाएपछि दुई वर्षअघि एमालेमा प्रवेश गरेको उनले बताइन् । आफ्नै बारीमा उत्पादन गरिएका मकै ल्याएर दिनहुँ माचर चोकमा ल्याएर पोलेर बेच्ने गरेको उनले सुनिन् ।  

उनलाई श्रीमान‍्को ठूलो सहयोग र आडभरोसा छ । अन्नबाली, तरकारी र घरमा पालेका गाई, भैंसीको हेरचाह श्रीमान् फुलारामले गर्छन् । श्रीमती उपप्रमुख हुँदा पनि आफूले पशुपालन र कृषिकर्म गरेको उनले बताए । ‘अहिले श्रीमतीसित मिलेर काम गर्दा खुसी लाग्ने गरेको छ,’ उनले भने, ‘पढेलेखेको भए जागिर गरिन्थ्यो, नपढेपछि यही काम ठीक छ । यसैमा रमाएका छौं ।’

मधुवन नगरपालिकाका प्रवक्ता मेखबहादुर गुरुङले पूर्वउपप्रमुखको परिश्रम वर्तमान जनप्रतिनिधिका लागि पनि उदाहरणीय र सराहनीय भएको बताए । ‘जनप्रतिनिधि हुनु भनेको सरकारी जागिर होइन,’ उनले भने, ‘जनताले केही समय सेवा गर्न पठाएका हुन् । अवधि सकिएपछि परिश्रम गरेर खानुपर्छ भन्ने पाठ उहाँले सिकाउनु भएको छ ।’

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully