बुटवल उपमहानगरपालिकाद्वारा अब घरमै पुगेर ज्येष्ठ नागरिकलाई विशेषज्ञ चिकित्सक र ल्याब परीक्षण सेवा 

वैशाख दोस्रो सातादेखि सेवा उपलब्ध गराउने तयारी नगरपालिकाले गरेको छ । लक्षित व्यक्तिका घरसम्म आधुनिक प्रयोगशाला पुर्‍याउनका लागि लुम्बिनी प्रदेश प्रयोगशालासित र विशेषज्ञ चिकित्सकका निम्ति लुम्बिनी प्रादेशिक सहित डेढ दर्जन निजी अस्पतालसँग सम्झौता गर्न लागिएको छ ।

चैत्र २८, २०८२

माधव ढुंगाना

Butwal Sub-metropolitan City now provides home-based specialist doctor and lab testing services to senior citizens

What you should know

भैरहवा — बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा बसोवास भएका ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घरमै विशेषज्ञ चिकित्सक र ल्याब परीक्षण सेवा पुर्‍याउने भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका घरमै पुगेर रोग निदानसँगै निःशुल्क उपचार व्यवस्था गर्न लागेको हो । 

उपमहानगरपालिकाले ‘बा–आमासँग नगर प्रमुख स्वास्थ्य उपचार कार्यक्रम’मार्फत यस्तो सेवा उपलब्ध गराउन लागेको जनाएको छ । नगरपालिकाका वडा स्वास्थ्य केन्द्रमा ज्येष्ठ नागरिकका निम्ति सञ्चालन गरिने स्वास्थ्य शिविरमा आउन नसक्ने ६० वर्षभन्दा माथि उमेरका र अपाङ्गता भएका बिरामीले पनि यस्तो सेवा अब घरमै पाउने जनाइएको छ ।

उपमहानगर प्रमुख खेलराज पाण्डेयले नगरका अभिभावकलाई बुढेसकालमा अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न विशेषज्ञ चिकित्सक, आधुनिक ल्याब परीक्षण र औषधिसहितको निःशुल्क उपचार सेवा उपलब्ध गराइने बताए । 

‘बुढेसकालमा अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न दुई वर्षदेखि थालिएको ज्येष्ठ नागरिक स्वास्थ्य उपचारलाई अझ प्रभावकारी बनाउन लागिएको हो,’ उनले भने, ‘नगरपालिकाको आफ्नै पहल र व्यवस्थापनमा सेवाको दायरालाई बढाइएको हो ।’ उनका अनुसार हिंडडुल गर्न नसक्ने, घरमा स्याहार गर्नका लागि आफन्त नभएका, बेसहारा अवस्थामा पुगेका र आर्थिक अभावले विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य उपचार सेवाबाट वञ्चित नागरिक लक्षित गरेर स्वास्थ्य सेवालाई विस्तार गरिएको हो । 

वैशाख दोस्रो सातादेखि सेवा उपलब्ध गराउने तयारी नगरपालिकाले गरेको छ । लक्षित व्यक्तिका घरसम्म आधुनिक प्रयोगशाला पुर्‍याउनका लागि लुम्बिनी प्रदेश प्रयोगशालासित र विशेषज्ञ चिकित्सकका निम्ति लुम्बिनी प्रादेशिक सहित डेढ दर्जन निजी अस्पतालसँग सम्झौता गर्न लागिएको छ ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले सम्झौताका लागि लुम्बिनी प्रदेश प्रयोगशाला र बुटवल क्षेत्रका निजी अस्पतालसँग छलफल भइसकेको बताए । ‘बिरामीको आवश्यकताअनुसार उपचार गरेर फलोअपलाई पनि निरन्तरता दिइनेछ,’ पाण्डेले भने, ‘सुरुमा बिरामीको ल्याब परीक्षण गर्ने छौं र त्यसको भोलिपल्ट विशेषज्ञ चिकित्सकसहित औषधि पुर्‍याउनेछौं ।’

स्वास्थ्य शाखा प्रमुख युवराजका अनुसार बा–आमासँग नगर प्रमुख स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत प्रथम चरणमा ६० वर्षदेखि माथिका सबै ज्येष्ठ नागरिकका निम्ति उपमहानगरपालिकाले नगरका १९ वटै वडा कार्यालयमा छ–छ महिनामा स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सेवा उपलब्ध गराउँदै आएको छ । ६ महिनाअघिको शिविरमा २ हजार २ सयभन्दा धेरै ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

यही कार्यक्रम विस्तार गर्ने क्रममा दोस्रो चरणमा घर–घरमा यो सेवा पुर्‍याइएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार धेरै प्रभावकारी हुने विश्वास नगरपालिकाको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको घरमा पुग्दा धेरैका घरमा छोराबुहारी रोजगारी तथा व्यवसायका निम्ति विदेश वा घरबाहिर रहेको र उनीहरूको स्याहारसुसार गर्न अति आवश्यक देखिएकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । ‘ज्येष्ठ नागरिकको सम्मानका लागि र उनीहरूको आत्मबल उठाउन यस खालको स्वास्थ्य कार्यक्रम लागू गर्न खोजिएको हो,’ उनले भने, ‘यस खालको कार्यक्रम गर्नु राज्यको पनि दायित्व हो ।’

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully