जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका साइकल र काठ लिलाम बिक्री गरेको हो।
नेपालगञ्ज — डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएका साइकल र काठका गोलिया लिलाम बिक्री गरेर करिब ४३ लाख राजश्व संकलन गरेकाे छ ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका साइकल र काठको गोलिया लिलाम प्रक्रियाबाट बिक्री गरिएको हो।
उनका अनुसार कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका ११९ थान साइकल र २५०१.९३ क्यूफिट खयर, साल, सगुनलगायतको काठका गोलिया बिक्रीबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको हो। जसमध्ये साइकल बिक्रीबाट ७९ हजार र काठबाट ४२ लाख ७ हजार ४ रुपैयाँ प्राप्त भएको उनले बताए। उनले कार्यालय परिसरमा थन्किएका पुराना सामग्रीको व्यवस्थापन क्रमशः अन्य सवडिभिजन वन कार्यालयसम्म विस्तार गरिने जानकारी दिए।
कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टंक गुरुङका अनुसार लिलाम बिक्रीबाट प्राप्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा भइसकेको छ। उनले अब विभिन्न जातका ९२२ क्यूफिट चिरान काठ लिलाम प्रक्रियामा रहेको बताए l
