पाल्पाको रैनादेवीमा करदाता सेवा सुरु

स्थानीय तहमै कर प्रशासन पुगेपछि अब करको दायरा बढ्ने र नागरिकमा कर तिर्ने संस्कारको थप विकास हुने रैनादेवी छहरा गाउँपालिकाका लेखा अधिकृत लीलामणी बस्यालको दाबी ।

चैत्र २६, २०८२

माधव अर्याल

Taxpayer service launched in Rainadevi, Palpa

What you should know

पाल्पा — पहाडी जिल्ला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले करदाता सेवा सुरु गरेको छ । स्थायी लेखा नम्बर (प्यान) र व्यावसायिक दर्ता प्रमाणपत्र वितरण गरेर करदाता सेवा सुरु गरेको पालिकाले जनाएको छ । अर्थ मन्त्रालयले करदाता सेवा कार्यालयको काम स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति लिएपछि रैनादेवी छहराले पनि सुरु गरेको हो । 

कर सेवाको बिहीबार विधिवत् शुभारम्भ गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले गरे । उनले प्रणालीगत सुधारमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु सरकारको प्राथमिकता रहेको बताए । 

रैनादेवी छहरा गाउँपालिकाबाट पहिलो व्यक्तिगत स्थायी प्यान नम्बर सुरज भण्डारीले पाए । यस्तै, स्थानीय व्यापारी लक्ष्मण बरालले व्यावसायिक दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । स्थानीय स्तरमै यो सुविधा पाएपछि खुसी लागेको व्यवसायी बरालले बताए । स्थानीय सरकारको यो कदमले साना तथा ठूला उद्यमीलाई ठूलो राहत मिलेको भण्डारीको प्रतिक्रिया थियो । 

सरकारले तानसेनस्थित आन्तरिक राजस्व कार्यालय खारेज गरेसँगै कार्यालयबाट प्रवाह हुने कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।सरकारको सोही निर्णयबमोजिम रैनादेवीछहरा गाउँपालिकाले स्थानीय तहबाटै करसम्बन्धी सेवा शुभारम्भ गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए ।

पालिकाबाट कर सेवा शुभारम्भ गर्ने सम्बन्धमा गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, बुटवलबीच सम्झौता भएको छ । सम्झौताअनुसार पालिकाबाट स्थायी नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्न मिल्छ । पालिकाले आफ्नो क्षेत्राधिकारभित्रका करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर सिफारिस गर्ने, दर्ता प्रमाणपत्र र इजाजतपत्र उपलब्ध गराउने, संशोधन गर्ने र आफूबाट हुन नसकेका काम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने सम्झौता भएको हो । 

पालिकाबाट उक्त सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन पालिका आफैंले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रणपाल परियारले बताए । आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बस्यालका अनुसार अब करदाता सेवा कार्यालयले दिने सुविधाहरू गाउँपालिकाबाटै प्राप्त हुनेछन् ।

स्थानीय तहमै कर प्रशासन पुगेपछि अब करको दायरा बढ्ने र नागरिकमा कर तिर्ने संस्कारको थप विकास हुने रैनादेवी छहरा गाउँपालिकाका लेखा अधिकृत लीलामणी बस्यालको दाबी छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully