विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन लैजान प्रयोग गर्न बस र भ्यान दिइएका हुन् । अहिले तिनै पाँचवटा बस गौतमबुद्ध विमानस्थलमा थन्क्याएका छन् ।
What you should know
लुम्बिनी — पाँच वर्षअघि लुम्बिनी विकास कोषका लागि भनेर ल्याइएका बिजुली बस सञ्चालनको निधो लाग्न सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि दुई दिन सञ्चालनमा ल्याइएका बस अहिले भैरहवास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयमा ल्याएर थन्क्याइएको छ । कोषले सञ्चालनमा ल्याएको ४८ घण्टा नबित्दै बस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याइएको हो ।
घाम–पानीमा थन्किएका ५ वटा बस एक साताअघि काठमाडौं लैजाने तयारी गरिएपछि स्थानीयले विरोध जनाएका थिए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि दुई दिन सञ्चालन गरिएको थियो । दुईवटा बस चैत १८ र १९ गते सञ्चालन भएका थिए । ती बस बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रुटमा सञ्चालन गरिएको थियो । चैत २० गते कोषले पत्रसहित ५ वटै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो ।
पर्यटक सुविधाका लागि अनुदान सहायतामा खरिद गरिएका पाँचवटा बिजुली बस र १४ वटा भ्यान सञ्चालनका लागि खिचाचानी भइरहेको छ । मुलुक भित्रिएदेखि सहज रूपमा चल्न सकेका छैनन् । नियमित गाडी चलाउन कहिले ऐन/नियम, कहिले जनशक्ति र कार्यविधि बाधक रहेको भन्दै कोषले चलाउन नसक्दा अलपत्र थिए ।
एक महिनाअघि संस्कृति तथा पर्यटन मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार बस काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणलाई पठाउने प्रक्रिया थालिएको थियो । तर, चैत १६ गते प्रधानमन्त्री कार्यालयबाट एक अधिकारीले फोन गरेर बस लुम्बिनीमै चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । त्यसपछि बस पठाउने प्रक्रिया रोकिएको कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए ।
बस र भ्यान काठमाडौं पठाउन लागेको थाहा पाएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाका अर्जुन कुर्मी र सकिल अहमद खाले कोष सदस्य–सचिव श्रेष्ठलाई चैत १६ गते ज्ञापनपत्र बुझाएका थिए । अन्य स्थानीयले पनि विरोध र आन्दोलनको चेतावनी दिएका थिए । त्यसै दिन पर्यटन मन्त्रालयले दोस्रो पटक ३ दिनभित्र बस बुझाउन ताकेता गरेको थियो । त्यसअघि ७ दिनभित्र बस बुझाउन ताकेता गरेको थियो । प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयबीच समन्वय नहुँदा सुरुमा कोषलाई के गर्ने, कसो गर्ने भन्ने अन्योल भएको कोषका एक अधिकृतले बताए । पछि मन्त्रालयको निर्णय पालना गरिएको उनले बताए ।
‘भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बस बुझाउँदा प्रधानमन्त्री कार्यालयले आपत्ति जनाएन,’ उनले भने, ‘सही निर्णय गरेको जस्तो लाग्यो ।’
कोषले स्थानीय आन्दोलित हुने डरले बस मर्मत गर्न भैरहवा पठाएको भनेर उम्किने गरेको छ । मन्त्रालयको निर्देशन अनुसार बसहरू नागरिक उड्डयन प्राधिकरण मातहत आएको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए । के प्रयोजनका लागि किन ल्याइएको हो भन्ने जानकारी नभएको उनले बताए । ०७७ मंसिर र पुसमा गरेर एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत अत्याधुनिक विद्युतीय १४ वटा ट्याक्सी (भ्यान) र ५ वटा बस लुम्बिनी आएका थिए । बस तथा ट्याक्सीको १३ करोड रुपैयाँ बराबर लागत छ । सरकारले साढे ३ करोड भन्सार शुल्क बेहोरेको थियो ।
अहिलेसम्म मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गरिएको कोषका सदस्य–सचिव श्रेष्ठले बताए । ‘यो भनेको पर्यटकका लागि आएका कोषका ५ वटा बस मन्त्रालय र मतहतका निकायलाई प्रयोग गर्न दिने नै हो,’ उनले भने, ‘कोषले अर्को निर्णय नगर्दासम्म मन्त्रालयको निर्णय नै कार्यान्वयन हुन्छ ।’ उनका अनुसार शुक्रबार काठमाडौंमा कोषको बोर्ड बैठक छ । मन्त्रालयले कोषका धेरै काममा हस्तक्षेप गर्दा समस्या आइरहेको कोष बोर्ड सदस्य विश्वराज पौडेलले बताए । ‘कोषका नाममा बस र गाडी छन् । बर्सेनि बिमा रकम कोषले तिरिरहेको छ,’ उनले भने, ‘पर्यटकको सुविधाका लागि यहाँ ल्याइएका बस मन्त्रालयलाई किन दिने ?’ बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न दाताको सहयोगमा ल्याइएका सवारी साधन यहीँ चल्न पाउनुपर्ने उनको भनाइ छ ।
नम्बर प्लेटको उल्झन
सुरुवातमा गाडीमा सरकारी नम्बर प्लेट राखिएको थियो । त्यसबेला सरकारी नम्बर प्लेट भएका जिप (भ्यान) र बस भाडामा लगाउन मिल्ने प्रावधान नभएको जनाइयो । यहाँ भित्र्याइएको १६ महिनापछि सरकारी नम्बर प्लेट पाएका थिए । गाडी पर्यटन मन्त्रालयका नाममा नामसारी गरियो । मन्त्रालयले कोषलाई ट्याक्सी (भ्यान) र बस हस्तान्तरण गर्यो । त्यतिबेला सरकारी प्लेटका गाडी अन्य काममा प्रयोग गर्न नमिल्ने भन्दै पर्यटकका लागि सञ्चालन गरिएन । त्यसपछि सरकारी नम्बर प्लेटलाई पर्यटक चढ्ने हरियोमा परिवर्तन गर्ने प्रयास थालियो ।
यातायात कानुनमा सेतो नम्बर प्लेटका सरकारी गाडी हरियो वा अन्य कुनै प्लेटमा परिवर्तन गर्न पाउने प्रावधा नभएकाले पर्यटकका लागि गाडी चलाउन समस्या बन्यो । लामो उल्झनपछि लुम्बिनीमा क्रियाशील मधेश मानव अधिकार गृहका रामविकास चौधरीले तुल्सीपुर उच्च अदालतअन्तर्गत बुटवल इजलासमा रिट दायर गरे । अदालतको आदेशपछि ०८२ वैशाखमा हरियो नम्बर प्लेट बनाइयो । नम्बर प्लेट परिवर्तन भए पनि गाडी चलाउन सक्ने अवस्थामा छैनन् ।
बस र भ्यान सञ्चालन गर्ने कार्यविधि नहुँदा अहिले समस्या भइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । ‘निजी क्षेत्रलाई संचालन गर्न दिन कानुनी जटिलता छ,’ उनले भने, ‘कोषसँग जनशक्ति छैन । ठूला बस र भ्यान चलाउन चालक र सहचालक कोषसँग छैनन् ।’ कोषको आर्थिक अवस्था जर्जर भएकाले तलब खुवाउन समस्या भइरहेको छ ।
कर्मचारीद्वारा दुरुपयोग
विभिन्न कारण देखाएर सञ्चालन गर्न आलटाल भइरहे पनि भ्यान भने कोषका कर्मचारी र पदाधिकारीले मनमौजी प्रयोग गरिरहेका छन् । पर्यटक बोक्ने हरिया नम्बर प्लेटका सवारी साधन कोषका कतिपय पदाधिकारी र कर्मचारीले परिवारका सदस्य र आफन्त लिएर घुमफिरमा समेत प्रयोग गरिरहेका छन् ।
कोषका कर्मचारीले विभिन्न बहाना बनाएर बस र भ्यान चलाउन नखोज्नु गैरजिम्मेवारी र लापबाही भएको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी पौडेलले बताए । यसबाट कोष कत्ति पनि पर्यटन–मैत्री नभएको देखिएको उनले बताए । ०७२ सालको भूकम्पपछि थलिएको पर्यटन क्षेत्र उकास्न र भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनपछि पर्यटकलाई सुविधा दिन बस र भ्यान दिइएको थियो ।
कोषमा दलीय हस्तक्षेप बढ्दा समस्या भइरहको स्थानीय नागरिक अगुवा अर्जुन कुर्मीले बताए । ‘कोषमा उपाध्यक्ष, सदस्य–सचिव, कोषाध्यक्ष र योजना प्रबन्धक चार जना चार पार्टीका छन्,’ उनले भने, ‘एकअर्कासँग कुरा मिल्दैन । त्यही भएर लुम्बिनीमा विकासको काम जहिल्लै प्रभावित हुन्छ । हामी कुनै पनि हालतमा बस काठमाडौं जान दिदैनौं,’ उनले भने, ‘धर्ना, अनसन र विरोध गछौं ।’
लुम्बिनी विकास कोषमा क्षमतावान् र नेतृत्व गर्न सक्ने राम्रा व्यक्तिभन्दा हाम्रालाई भर्ना गर्दा समस्या भएको भिक्षुमैत्री महास्थवीरले बताए । ‘राजनीतिक नियुक्तिको परिणामले गर्दा ट्याक्सी (भ्यान) र बस संचालन हुन नसेका हुन्,’ उनले भने ।
आरामदायी बस र ट्याक्सी
बस र ट्याक्सी आरामदायी छन् । ठूलो बसमा १९ सिट छ । उभिँदा ३५ जनासम्म अटाउँछन् । सानो भ्यान ५ सिटे हो । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ । स्वचालित ढोका छन् । आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एकपटक फुलचार्ज गरे ४ सय किमि गुड्छ । आपतकालीन ठूलठूला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेल बटन छ । थिच्नासाथ चालकनिर रहेको बत्ती बल्छ ।
बस भ्यानका लागि दुई नं २ गेटअघि एडीबीकै सहयोगमा अत्याधुनिक चार्जिङ स्टेसन पनि बनाइएको छ । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन लैजान प्रयोग गर्न बस र भ्यान दिइएका हुन् । त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो होस् भनेर बस संचालन गर्न पठाइएको थियो ।
पाँच बसमध्ये तीनवटा चल्न सक्ने अवस्थामा छैनन् । जथाभावी चलाउँदा बस बिग्रिएका हुन् । सत्तामा रहेका नेताहरूले चुनावका बेला सस्तो लोकप्रियता कमाउन ०७९ मा सर्वसाधारणका लागि दुई/चार महिना बस चलाएका थिए । त्यसपछि धम्म यात्रा भन्दै कोषले पनि केही समय बस चलाएको थियो । तर, भाडा स्वैच्छिक राख्दा नउठेर समस्या भएपछि बन्द गरिएको थियो । निजी बसले पनि बेलाबेला विरोध गर्दा समस्या भइरहेको कोषका चालक सुरेन्द्र यादवले बताए ।
बसका अगाडि र झ्यालका ठूलठूला सिसा फुटेका छन् । ठाउँठाउँमा बडी कुच्चिएका र कोतरिएका छन् । ब्याट्री डाउन भएका छन् । बसका पार्ट्स नपाउने समस्या र बुटवल/भैरहवामा राम्रो रिपेरिङ सेन्टर नहुँदा पनि समस्या भइरहेको छ । जसले पायो उसले चलाउँदा भ्यान पनि ठोक्किएका छन् । दुईवटा भ्यान दुर्घटनामा परेर चल्न नसक्ने अवस्थामा छन् । भ्यानको अगाडिका सिसा फुटेका छन् । कतिपयका बडी कुच्चिएका छन् । टायर बिग्रिएका छन् ।
