मणिग्राममा रहेको सीएमजी क्लब क्यासिनोबाट नेपाली नागरिकलाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा — रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित एक क्यासिनोभित्र जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ परेका छन् । बुधबार राति जिल्ला प्रहरीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले क्यासिनोमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
मणिग्राममा रहेको सीएमजी क्लब क्यासिनोमा जाँच गर्दा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकलाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न आरोपमा सर्लाहीको बरहथवा–८, का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५, का अजय केसी पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा रुपन्देहीको बुटवल–१२, का गोविन्द शर्मा, बुटवल–९, का वासुदेव गौतम र कृष्ण गौतम, बुटवल–११, का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार क्यसिनोबाट २ दुई १७ हजार ३ सय ९० नेपाली रुपैयाँ र तीन हजार ५ सय भारतीय रुपैयाँ नगद बरामद गरिएको थियो । यसबाहेक १ लाख २५ हजारका क्यासिनो क्वाइन, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरिएको चन्दले बताए ।
