उद्धार गरिएको चितुवा करिब ३ वर्षको पोथी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
बर्दिया — दाङको राप्ती गाउँपालिका–१ भालुबाङबाट घाइते अवस्थामा मंगलबार उद्धार गरिएको चितुवाको अहिले बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा उपचार भइरहेको छ ।
घाइते चितुवालाई मंगलबार नै बर्दिया ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले चितुवाको शरीरका धेरै ठाउँमा चोट लागेको बताए ।
‘पशु चिकित्सक विकल्प कार्कीले बुधबारबाट घाइते चितुवाको उपचार सुरु गरेका छन्,’ प्रमुख तुम्बाहाम्फेले भने, ‘घाइते चितुवालाई उद्धार गर्ने क्रममा स्थानीय दुई जना घाइते भएका थिए ।’
उद्धार गरिएको चितुवा करिब ३ वर्षको पोथी भएको संरक्षण कोषले जनाएको छ । प्रकृति संरक्षण कोषमा घाइते वन्यजन्तुको उपचार गरिन्छ ।
