सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका युवकको परिवारलाई राहत र क्षतिपूर्ति दिन माग

चैत ७ गते महाराजगन्ज नगरपालिका २, बरगदामा सुरक्षाकर्मीको गोली लागी घाइते भएका २३ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको हो

चैत्र २५, २०८२

मनोज पौडेल

Demand for relief and compensation for the family of the young man who died after being shot by a security guard

What you should know

कपिलवस्तु — महाराजगन्ज नगरपालिका २, बरगदामा दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अरुण भन्ने जितेन्द्र यादवको परिवारले क्षतिपूर्ति र राहतको माग गरेका छन् । चैत ७ गते गोली लागेका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।  

संघीय सांसद अभिषेकप्रताप साहले प्रतिनिधिसभा बैठकमा घटनाका मृतक र घाइते पीडित परिवारले न्याय नपाएकाले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछानेले पनि घटनाको निष्पक्ष र विश्वासिलो छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । उनले विज्ञप्ति निकाली मृतकलाई सहिद घोषणा गरी राज्यका तर्फबाट सम्मान प्रकट गर्न र पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन माग गरेका छन् । उनले घटनाका घाइतेलाई निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न आग्रह गरेका छन् । 

त्यस्तै राष्ट्रिय सभाका पूर्वसदस्य सदस्य दृगनारायण पाण्डेले पनि शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने र घाइतेको उपचार प्रभावकारी रूपमा हुन नसकेको विषयमा पारदर्शी रूपमा छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाहीको माग गरेका छन् । मृतकका परिवारलाई रोजगारी दिएर जिल्लामा शान्ति, सुरक्षा र विश्वासको वातावरण बनाउन उनको आग्रह छ । 

सोमबार बिहान भरतपुरस्थित चितवन मेडिकल कजेलमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो ।  उनको सोमबार राति नै ल्याइए पनि दाहसंस्कार हुन सकेको छैन । उनको शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ । घटनामा अन्य तीन जना घाइते भएका थिए ।

आफूहरूको माग पूरा नगरेको भन्दै शव नउठाएको मृतकका हजुरबुबा नन्दलाल यादवले बताए । यता मृतक परिवारका माग पूरा गरे पनि शव बुझ्न नआएको प्रमुख जिल्ला अधिकारी नवराज गौतमको दाबी छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवार, स्थानीय सरोकारवाला र प्रशासनबीच बैठक बसे पनि सहमति हुन नसक्दा मृतकको दाहसंस्कार हुन सकेको छैन ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully