फूलबारीमा करिब ४ करोड खर्च गरेर निर्माण गरिएका भौतिक संरचना काम नलाग्ने बनेका छन् ।
What you should know
पाल्पा — तानसेन–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरको फुलबारी मर्मत र संरक्षण नहुँदा १० वर्षदेखि लथालिङ बनेको छ ।
उक्त फूलबारीमा करिब ४ करोड खर्च गरेर निर्माण गरिएका भौतिक संरचना काम नलाग्ने बनेका छन् । ‘करोडौं खर्च गरेर निर्माण गरिएका भौतिक संरचना छियाछिया भएका छन्,’ स्थानीय सूर्यबहादुर बोहोराले भने, ‘माल पाएर पनि चाल नपाएको जस्तो बनेको छ ।’
उनका अनुसार आवश्यकता भन्दा धेरै संरचना निर्माण गरेकाले समस्या भएको हो । साथै नगरपालिकाले स्थानीयलाई संरचनाप्रति जिम्मेवार नबनाउँदा संरक्षण हुन नसकेको उनले बताए । मन्दिर जीर्णोद्वार, परिसर सौन्दर्यकरणका काम थाल्ने बेलै स्थानीयले नगरपालिका समक्ष लागत इष्टिमेट भन्दा फरक काम भएको गुनासो गरेका थिए । यसले मन्दिर क्षेत्रको ऐतिहासिक र पुरातात्विक अस्तित्व संकटमा परेको स्थानीयको गुनासो छ ।
‘स्थानीय र टोलका बासिन्दासँगै कुनै छलफल नगरेरै काम गरियो,’ स्थानीय मायालक्ष्मी लिगलले भनिन्, ‘धेरै बजेट खर्च गरियो, तर मन्दिर व्यवस्थापन समितिले कुनै फाइदा लिन पाएन ।’ विश्व बैंकको ऋण सहयोगमा २०७० सालमा करिब ४ करोड खर्च गरेर अमरनारायण फुलबारी क्षेत्रको सौन्दर्यकरण गरिएको थियो । मन्दिर, त्यसको परिसर, पौवा लगायत निर्माणका काम भएका थिए । नगरपालिकाले अहिलेसम्म ऋण तिर्न सकेको छैन । ८० लाख भन्दाबढी तिर्न बाँकी छ । मन्दिरबाट आम्दानी शून्य रहेको नगरपालिकाले जनायो ।
मन्दिर क्षेत्रमा पार्क, बाल उद्यान, विवाह मण्डप, पुरातात्विक पर्खाल मर्मत, पौवा, ‘सौभिनियर’ पसल, सार्वजनिक शौचालय, शिवमन्दिर, नागपोखरी मर्मतलगायतका काम गर्नुपर्ने लागत इष्टिमेटमा उल्लेख थियो । उक्त स्टिमेट अनुसार काम नभएको स्थानीयको गुनासो छ । नगरपालिकाले सरसफाइका लागि दैनिक काम गर्ने कर्मचारी व्यवस्थापन गर्न नमानेकाले अहिलेको अवस्था आएको वडाध्यक्ष महेश्वर श्रेष्ठले बताए । ‘अमरनारायण फुलबारी सौन्दर्यकरण गरियो, तर अलपत्र छ,’ उनले भने, ‘फुलबारी सञ्चालन गर्न नगरपालिकासँग धेरै पटक माग गरियो तर हाम्रो वडाको बजेटबाट अपुग भएकाले संचालन गर्न सकेका छैनौं ।’
फुलबारी सौन्दर्यकरणका साथै अमरनारायणको पुनः निर्माणको काम भए पनि कन्सल्ट्याण्ट र निर्माण कम्पनीले मन्दिर क्षेत्रमा मर्मत र निर्माणका काम गर्दा पुरातात्विक महत्व ख्याल नगरेको स्थानयी अर्जुन घिमिरेले बताए । ‘पुरातत्व विभाग र नगरपालिका यसका जिम्मेवार हुन्,’ उनले भने, ‘सबै निकायले बेवास्ता गर्दा अहलेको अवस्था आएको हो ।’ यहाँ काम भइरहेको बेलामै निर्माण कम्पनी र नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । त्यसले पनि वर्षौंसम्म काम पूरासमेत हुन सकेन ।
निर्माण व्यवसायीले धरौटी फिर्ता पाएका छैनन् । ढिला गरी काम सम्पन्न भए पनि फुलबारीको पुनः मर्मत लगायत कार्यमा नगरपालिकाको ध्यान पुगेको छैन । २०७४ र २०७९ मा तानसेन नगरपालिकामा निर्वाचिर्त जनप्रतिनिधिको ध्यान अमरनारायण फुलबारीमा पुगेन । ऐतिहासिक ढुंगे पर्खाल, अन्य संरचना निर्माणमा लापरवाही भएको स्थानीयले गुनासो नगरपालिका समक्ष राखेका थिए । निर्माण व्यवसायीलाई धरौटी फिर्ता दिने काम बाहेक काम गर्न नगरपालिकाले ध्यान नदिएको स्थानीय बताउँछन् ।
नगरपालिकाका प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार निर्माणपछि एक पटक मर्मत गरिएको थियो । अहिले पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । ‘सरकारी स्रोत खर्च गरेर मर्मत गरेको संरचना हो,’ उनले भने, ‘नगरपालिका वा अन्य स्रोत जुटाएर भए पनि मर्मतको काम अगाडि बढाइने छ ।’ यसलाई मर्मत सम्हारसहित पुनःजागृत गर्दा नगरको सौन्दर्यकरण हुने उनले बताए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले अहिलेसम्म फुलबारी अलपत्र भएको स्वीकार्दै मर्मतका काम अगाडि बढाइने सुनाइन् ।
२ सय १९ वर्षअघि निर्माण भएको मन्दिरको मर्मत गरेको चार वर्ष नबित्दै दोस्रो तल्लाको छानो खसेको थियो । तानसेन नगरपालिकाले १ करोड ५ लाख २९ हजार रुपैयाँ लागतमा मन्दिरको जीर्णोद्धारको काम गरेको थियो ।
जीर्णोद्धार कार्यमा मन्दिरको छानो छाउने, मन्दिर वरपर ढुंगा छाप्ने र पिलरको छाना छाउने काम गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । मर्मत तथा जीर्णोद्धार कार्य एक वर्षअघि सम्पन्न भएको हो । मन्दिरको ऐतिहासिक संरचना नबिग्रने गरी जीर्णोद्धारको कार्य गरिएको तानसेन नगरपालिकाले जनाएको छ । अमरनारायण मन्दिर विसं १८६३ सालमा अमरसिंह थापाले बनाउन लगाएका थिए ।
