रोल्पाको पूर्वोत्तर क्षेत्रमा ४२ रोपनी क्षेत्रफलमा लगाइएको अफिमका बोट प्रहरीले नष्ट गरे पनि खेती गर्नेको पहिचान हुन सकेको छैन।
रोल्पा — रोल्पामा ठूलो क्षेत्रफलमा अबैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको पूर्वोत्तर क्षेत्रमा लगाइएको अवैध अफिम खेती मंगलबार बिहान प्रहरले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार थबाङ गाउँपालिका–४ उवाको गुराँसे लेकमा २२ रोपनी, जलाकीमा ८ रोपनी, थर्पु टावरमा ६ रोपनी, घोराबाङमा १ र लुचाडमा ६ रोपनी गरी ४२ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको हो ।
स्थानीयले अफिम खेती गरेको सूचना प्राप्त गरेपछि प्रहरी परिचालित भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । अफिमका बोट नष्ट गरे पनि खेती गर्नेहरुको पहिचान हुन नसकेको डीएसपी विश्वकर्माले बताए ।
ठूलो क्षेत्रफलमा अफिम खेती गरिएको सूचनापछि डीएसपी विश्कर्मासहित प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, सशस्त्र प्रहरीका नायब उपरीक्षक दिपेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिनेश पोखरेलको नेतृत्वमा ३५ जनाको टोली परिचालित भएको थियो ।
विगतका वर्षमा पनि त्यस क्षेत्रमा प्रहरीले अफिमका बोट नष्ट गरेको थियो । उक्त क्षेत्रमा खेती गर्ने किसान र सघाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफिम खेती गरिएको क्षेत्र रोल्पा सदलमुकाम लिबाङबाट करिब ८१ किलोमिटर टाढा पर्छ । केही समयअघि पश्चिम उत्तर रोल्पाको परिवर्तन गाउँपालिकाको पाछाबाङमा पनि अबैध रुपमा लगाइएको अफिम खेती नष्ट गरिएको थियो ।
