कपिलवस्तुका पर्यटन योजना प्रधानमन्त्रीलाई बुझाइयो

विश्वभरकै पर्यटक आकर्षण गर्ने सम्भावना बोकेको कपिलवस्तुका बारेमा प्रधानमन्त्री वालेन्द्र शाहले चासो राख्दै जानकारी लिएको कुराले आफू उत्साही भएको कपिलवस्तु–३ का सांसद अभिषेकप्रताप शाहले बताए ।

चैत्र २४, २०८२

मनोज पौडेल

Kapilvastu tourism plan submitted to Prime Minister

What you should know

लुम्बिनी — कपिलवस्तुबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले जिल्लाका पर्यटन विकासका योजना प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएका छन् । 

प्रधानमन्त्री र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यबीच सोमबार काठमाडौंमा आर्थिक वर्ष ०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, पूर्वाधार विकास, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयमा बहस भएको थियो । त्यसक्रममा सांसदले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजना प्रस्तुत गरेका थिए । 

प्रशस्त पर्यटकीय विकासको सम्भावना बोकेको कपिलवस्तुका पर्यटन विकासका विषयमा छलफल बढी केन्द्रित थियो । कपिलवस्तु–२ बाट निर्वाचित सांसद विक्रमसिंह थापाले १२ पेजको अवधारणा पत्र पेस गरेका थिए । संसारलाई शान्तिको सन्देश दिने उद्गमस्थल तिलौराकोटलाई स्मार्ट हेरिटेज सिटीको रूपमा विकास गर्न सकिने सुझाव आफूले दिएको उनले बताए । भगवान् गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको तिलौराकोटलाई विश्व सम्पदास्थल बनाउन फेरि प्रक्रिया अघि बढाउन पनि सांसद थापाले आग्रह गरेका छन् । 

कपिलवस्तुको पर्यटन विकासका लागि तिलौराकोट विकास परिषद् स्थापना गर्न उनले सुझाएका छन् । डिजिटल प्रविधिमार्फत भाषाको समस्या नहुने गरी बुद्धका बाल्यकालदेखि गृहत्यागसम्मका घटना देखाउने, बुद्ध दर्शन र पुरातत्त्वको अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्न पनि सुझाव दिएको उनले सुनाए । हेरिटेज टुरिजममार्फत रोजगारी र व्यापारका अवसर सिर्जना गर्ने प्रस्ताव गरेका छन् । छलफलमा सांसद थापाकै सुझाव प्रस्तावमा सबैको ध्यान गएको थियो । छलफलमा उनकै सुझाव बढी केन्द्रित रहेको थियो । 

‘ऐतिहासिक तथा पुरातात्विक स्थल रहेको ठाउँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सडक कनेक्टिभिटी सुढृढ गर्ने र कपिलवस्तुको झल्को दिने गरी डिजिटल संग्रहालय बनाउने सुझाव दिएका छौं,’ उनले भने । सांसद थापाले शासकीय सुधारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका प्रभावकारी नदेखिएकाले पुनर्संरचना गर्न पनि सुझाएका छन् । त्यस्तै वाणगंगा नदी नियन्त्रण, मलखादको सहज आपूर्ति, भूमिहीन र सुकुम्बासीको व्यवस्थापन गर्न सुझाएका छन् ।

विज्ञ र सरोकारवालासँग छलफल गरेर कपिलवस्तुको पर्यटन विकासका आधार संकलन गरेर प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएको सांसद थापाले बताए । विश्वभरकै पर्यटक आकर्षण गर्ने सम्भावना बोकेको कपिलवस्तुका बारेमा प्रधानमन्त्री शाहले चासो राख्दै जानकारी लिएको कुराले आफू उत्साही भएको कपिलवस्तु–३ का सांसद अभिषेकप्रताप शाहले बताए । ‘समग्रमा छलफल राम्रो भयो,’ उनले भने, ‘कपिलवस्तुको विकासमा राम्रो आशा जागेको छ ।’ आफुले पनि जिल्लामा खेलकुद विश्वविद्यालय स्थापना, जिल्लाका बनेको दुई वटा होल्डिङ सेन्टरको सदुपयोग र शिवराज अस्पतालको स्तरोन्तिका लागि सुझाव दिएको उनले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully