गत पुसमा नयाँ अस्पताल भवन हस्तान्तरण गरिएपछि अहिले सोही भवनबाट सहज ढंगले सेवा दिन थालिएको अस्पताल प्रमुख कृष्ण खरालले बताए ।
रुकुम पूर्व — रुकुम पूर्वको जिल्ला अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । हालसम्म सानो र पुरानो भवनबाट सेवा दिइरहेकामा अब नयाँ र फराकिलो भवनबाट सेवाप्रवाह थालेपछि सबैलाई सहजसमेत भएको छ ।
संघीयतापछि रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि २०७४ यता साबिकको इलाका स्वास्थ्य कार्यालयको संरचनाबाटै जिल्ला अस्पतालको सेवा जसोतसो संचालन भैरहेको थियो ।
२०७८ सालमा सुरु भई हालसालै निर्माण सम्पन्न भएपछि गत पुसमा अस्पताल भवन हस्तान्तरण गरिएको हो । अहिले नयाँ भवनबाट सहज ढंगले सेवा दिन थालिएको अस्पताल प्रमुख डा. कृष्ण खरालले बताए ।
‘जिल्ला अस्पताल ५० शय्याको हुनुपर्ने भए पनि भौतिक संरचना र प्राविधिक जनशक्ति अभावका कारण मुस्किलले १५ शय्यासम्म सेवा दिन सकेका थियौं,’ डा. खरालले भने, ‘अब ५० शय्या नै संचालन गर्न सकिने भौतिक संरचना बनेको छ । तत्काल यसमा हामीले ३०–३५ शय्यासम्म चलाउन सक्छौं ।’
