महाराजगञ्ज नगरपालिका बुटहनियाका २२ वर्षीय अरुण भनिने जितेन्द्र यादवको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु — गत चैत ७ मा महाराजगञ्ज नगरपालिका–२ बरगदामा दुई समुदाय बीचको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका बुटहनियाका २२ वर्षीय अरुण भनिने जितेन्द्र यादवको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । पेटमा गोली लागेर घाइते भएका उनको चैत ८ देखि भरतपुरस्थित चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । चैत्र ८ गते नै उनको शल्यक्रिया भएर भेन्टिलेटरमा दुई दिन राखेर आइसीयू कक्षमा सारिएको थियो । त्यसपछि १०/११ दिनदेखि उनको सामान्य वार्ड राखेर उपचार भइरहेको थियो । सामान्य अवस्थामा रहेका बेला सोमबार बिहान अचानक मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको आन्द्रामा घाउ भएको र शल्यक्रिया समेत गरिएको थियो । घटनामा उनीसहित ५ जनालाई गोली लागेको थियो । अन्य चार जना भने भैरहवा मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन् ।
गत चैत ७ मा बरगदा गाउँमा दुई समुदायबीच झडप हुँदा हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–बहादुरगञ्ज सडक तनावग्रस्त भएको थियो । त्यही क्रममा घटनास्थलभन्दा पश्चिम महाराजगञ्ज नगरपालिका–६ जिगना चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली लागेर यादव घाइते भएका थिए ।
