चैत ३० मा भैरहवामा रैथाने खाना महोत्सव हुने

महोत्सवमा थारु, मगर, नेवार, गुरुङलगायत मधेसी समुदायका विभिन्न खानाका परिकार उपलब्ध हुने छन् । रैथाने खानाको साथमा भैरहवा र आसपास क्षेत्रका विभिन्न तारे होटलका खानाका परिकारका स्टल पनि महोत्सवमा रहने छन् ।

चैत्र २३, २०८२

माधव ढुंगाना

Traditional food festival to be held in Bhairahawa on Chaitra 30

भैरहवा — लोपोन्मुख स्थानीय रैथाने खानालाई लक्षित गर्दै नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीले भैरहवामा रैथाने सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ । 

सडक खाना महोत्सवको यो पाँचौ शृंखला हो । भैरहवामा पत्रकार सम्मेलन गर्दै पाँचौं सिद्धार्थ रैथाने सडक खाना महोत्सव आउँदो चैत ३० गते भैरहवाको रंगशाला रोडमा सञ्चालन हुने जानकारी दिइएको हो । 

संगठका अध्यक्ष राजेश मोहत्राले लोपोन्मुख अवस्थामा पुगेका विभिन्न समुदायका स्थानीय रैथाने खानाका परिकारको संरक्षण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकमाझ यहाँको खाना चिनाउने उद्देश्यले रैथाने सडक खाना महोत्सवको आयोजना गरिएको बताए । 

महोत्सवमा थारु, मगर, नेवार, गुरुङलगायत मधेसी समुदायका विभिन्न खानाका परिकार उपलब्ध हुने छन् । रैथाने खानाको साथमा भैरहवा र आसपास क्षेत्रका विभिन्न तारे होटलका खानाका परिकारका स्टल पनि महोत्सवमा रहने छन् । 

‘विभिन्न जाति तथा समुदायमा आधारित रैथाने खानाका परिकारहरू लोपोन्मुख अवस्थामा पुगेकाले महोत्सवमा पहिलो प्राथमिकतामा रैथाने खानाको स्टललाई दिइएको छ,’ मोहत्राले भने, ‘महोत्सवमा उपलब्ध हुने सबै खालका खाना विशेष छुटका साथ सहुलियत दरमा उपलब्ध हुनेछ ।’

आयोजकका अनुसार महोत्सवमा भारतीय र स्वदेशी गरी २५ देखि ३० हजार सहभागी हुने र १ करोड रुपैयाँभन्दा धेरैको कारोवार हुने अनुमान गरिएको छ । ८० वटा खानाको स्टल रहने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसहितको सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully