त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राणीशास्त्र केन्द्रीय विभागद्वारा प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउने उद्देश्यले अध्ययन भइरहेको छ । यसक्रममा राम्रो संख्यामा बाघ अभिलेख भएका हुन् । क्यामरा ट्रयापमा सबैभन्दा बढी कपिलवस्तु र दाङमा बाघ परेका छन् ।
What you should know
लुम्बिनी — प्रदेशका थप ६ जिल्लामा पाटेबाघ देखिएका छन् । निकुञ्ज रहेका र बाघ संरक्षित क्षेत्र मानिने बाँके र बर्दियाबाहेकका जिल्लामा पनि बाघ देखिएका हुन् । वनजंगलको स्वास्थ्य पारिस्थिकीय प्रणालीको सूचक मानिने बाघ अभिलेख भएपछि यहाँका संरक्षणकर्मी उत्साहित देखिएका छन् ।
तीन महिनायतादेखि भइरहेको अध्ययनअनुसार लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा पाटे बाघको अभिलेख गरिएको छ । दाङ, पाल्पा र अर्घाखाँचीमा पनि बाघ देखिएका छन् । प्रदेशका १२ मध्ये निकुञ्ज र संरक्षित क्षेत्र मानिएका बाँके र बर्दियाबाहेक ६ जिल्लामा गरिएको क्यामेरा ट्रयापमा बाघ अभिलेखमा परेका हुन् । अहिले थप दुई जिल्लामा अध्ययन भइरहेको छ । बाँकी दुई जिल्लामा तीन सातापछि अध्ययन थाल्ने तयारी छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राणीशास्त्र केन्द्रीय विभागद्वारा प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउने उद्देश्यले अध्ययन भइरहेको छ । यसक्रममा राम्रो संख्यामा बाघ अभिलेख भएका हुन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न चाहिने आधारभूत तथ्यांक संकलन गर्न पनि अध्ययनले सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्रोफेसर तथा अध्ययन टोली संयोजक डा. हरिप्रसाद शर्माले बताए ।
क्यामरा ट्रयापमा सबैभन्दा बढी कपिलवस्तु र दाङमा बाघ परेका छन् । कपिलवस्तुमा ४ वटा पाटेबाघ देखिएका छन् । पूर्व–पश्चिम राजमार्गको उत्तर तिलौराकोट साझेदारी र विभिन्न सामुदायिक वन क्षेत्र र खारखानी वनमा बाघ भेटिएका हुन् । यी वनमा ६८ वटा क्यामरा जडान गरिएका थिए । ४ सय वर्ग किलोमिटर क्षेत्रमा राखिएकामा आठवटा क्यामराले बाघको तस्बिर खिचेका थिए । यी सबको विश्लेषण गरेर हेर्दा ४ वटा फरक बाघ भएको क्यामरा ट्रयाप फिल्ड को–अर्डिनेटर वाचन प्रसाईंले बताए । दाङमा पनि ४ वटा बाघ क्यामरामा परेका छन् । अमेलिया, सतबरिया र अर्जुनखोलामा तथा चुरे क्षेत्र चाक्लीघाटमा क्यामरा ट्रयापमा बाघ परेका छन् । ६९ क्यामरा ४ सय २५ वर्गकिलोमिटरमा राखिएका थिए ।
कपिलवस्तुमा तेस्रोपटक बाघ अभिलेख भएको हो । दोस्रोपटक २०८० पुसमा बुद्धभूमि नगरपालिकामा दुईवटा र विजयनगर गाउँपालिकामा एउटा बाघ परेको थियो । पश्चिम नवलपरासीमा दुईवटा बाघ अभिलेख भएका छन् । ५२ वटा क्यामरा राखेर ३ सय २५ वर्गकिलोमिटर क्षेत्रमा अध्ययन गर्दा बाबा गोरिया सामुदायिक वनमा बाघ देखिएका हुन् । रूपन्देहीमा एउटा बाघ क्यामरा ट्रयापमा परेको छ । रूपन्देहीको २ सय ५० वर्गकिलोमिटरमा ४० थान क्यामरा राखेर अध्ययन गरिएको थियो । वन अनुसन्धान केन्द्र (वनबाटिका पार्क) गणेशनगर छेउमा रहेको गौशाला आसपासमा एउटा वयस्क बाघ क्यामरामा अभिलेख भएको छ ।
पाल्पामा दुईवटा बाघ अभिलेख गरिएको छ । माथागढी गाउँपालिकाको माथागढी किल्ला आसापास १ हजार १ सय १० मिटर उचाइमा र अर्को तिनाउ गाउँपालिकाको झुम्सा खोलामाथि डाँडा लगरमा ५ सय ३६ मिटर उचाइमा बाघ देखिएको अध्ययन टोली संयोजक डा. शर्माले बताए । अर्घाखाँचीको शितगंगा नगरपालिका नजिकै एउटा बाघ अभिलेख भएको छ । त्यहाँ बस्ती आसपास ९ सय ३४ मिटर उचाइमा बाघ भेटिएको हो । पाल्पाका ४४ र अर्घाखाँचीमा ५० वटा क्यामरा राखेर करिब ८ सय वर्गकिलोमिटरमा अध्ययन गरिएको थियो ।
गुल्मीमा ३६ वटा क्यामरा जडान गरेर २ सय २५ वर्गकिलोमिटरमा अध्ययन भइहेको छ । प्यूठानमा ४० वटा क्यामरा ट्रयाप राखेर २ सय ५० वर्गकिमिमा अध्ययन भइरहेको छ । अब सातादिनमा यी दुवै जिल्लामा बाघ भए/नभएको थाहा लाग्ने टोलीले जनाएको छ । ६ जिल्लामा राखिएका क्यामरामा २० वटा बाघ परे पनि कम्तीमा १४ वटा फरक बाघ रहेको अध्ययन टोली संयोजक डा. शर्माले बताए । सबै बाघ वयस्क हुन् ।
चुरे क्षेत्रका राष्ट्रिय वन, सामुदायिक वन र पहाडमा क्यामरा ट्रयाप राखिएको थियो । वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामरा राखिएका थिए । डाँडाको बाटो भञ्ज्याङ, गोरेटो ट्रयाक, नुन र पानीको स्रोत भएको ठाउँमा क्यामरा राखिएका थिए । दुई सातापछि रोल्पा र पूर्वी रुकुममा अध्ययन थालिनेछ । अध्ययन टोली संयोजक शर्मा नेतृत्वमा २० सदस्यले टोली दुई वर्षदेखि अध्ययन गरिरहेको छ । टोलीमा विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्ता र प्राणीशास्त्र अध्ययनरत विद्यार्थी संलग्न छन् । सन् २०२४ नोभेम्बरदेखि सुरु भएको अध्ययन २०२६ जुलाईमा सकिनेछ ।
क्यामरा ट्रयापमा बाघबाहेक चितुवा, निरबिरालो, चरिबाघ, जरायो, रतुवा र मृग पनि परेका छन् । हुँडार, चित्तल, काठेभालु, घोरल, दुम्सी र बँदेल पनि परेका छन् । वन्यजन्तुसँगै चरा, माछा, उभयचर, सरिसृप र स्तनधारीको पनि अध्ययन भइरहेको छ । पाँच वाई पाँच वर्ग स्क्वायर किमिको एउटा ग्रिड बनाएर २५ वर्ग स्क्वायर किमिमा ४ वटा क्यामरा राखिएको थियो । एउटा क्यामरादेखि अर्को क्यामराको दूरी एक किमि फरकमा राखेर क्यामरा ट्रयाप गरिएको फिल्ड कोअडिनेटर वाचन प्रसाईंले बताए ।
सबै ठाउँमा क्यामरा ट्रयाप २१/२१ दिन गरिएको फिल्ड मेम्बर सोभित अधिकारीले बताए । ६ जिल्लामा चितुवा ५०/६० बढी परेका छन् । चुरे क्षेत्र, पहाड र वन आसपास पाइएकाले यी बाघ कतैबाट आएकी यहीका रैथाने हुन् । त्यो भने अनुसन्धान गर्न बाँकी रहेको छ । चुरेको घोचघोच पनि आवतजावत गर्न सक्छन् । बाँके, दाङ, कपिलवस्तु, अर्घाखाँची र पाल्पासँग चुरे जोडिएको छ । सीमास्थित भारतमा सुहेलवा वाइल्ड लाइफ आरक्ष छ । नेपाली सीमासँग सटेका हुनाले पनि त्यहाँबाट बाघको नेपालमा आवतजावत हुन सक्ने देखिन्छ ।
नेपालमा अहिले संरक्षित क्षेत्रमा बाघ गणना भइरहेको छ । गैरसंरक्षित क्षेत्रमा भएको क्यामरा ट्रयापिङले बाघको संख्या बढ्ने देखिन्छ । यसले बाघसँगै वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने डब्लूडब्लूएफ नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताए । ‘वन्यजन्तुको वासस्थान र पर्यापर्यटनको विकासका योजना बनाएर अघि बढ्न सहयोग पुग्छ,’ उनले भने ।
वन्यजन्तुको अवैध चोरी सिकार तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पनि यो अध्ययनले सहयोग पुग्ने बताइएको छ । नेपालमा निकुञ्ज र संरक्षित क्षेत्रमा अहिले बाघ गणना भइरहेको छ । गैरसंरक्षित क्षेत्रमा पनि यसरी बाघ अभिलेख हुनुले बाघको संख्या अझ बढ्ने देखिन्छ । तर, पछिल्लो समय मानव–बाघ द्वन्द्व बढ्दा समाजमा डर र त्रास बढेको छ । ‘यसलाई सबै पक्ष मिलेर समयमै समाधान गर्नर्तेर्फ लाग्नुपर्छ,’ वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागार्इंले भने, ‘यसले पर्या पर्यटनलाई पनि राम्रो फाइदा पुर्याउँछ ।’
यसअघि सन् २०१८ मा पहिलो पटक रूपन्देही, कपिलवस्तु र पाल्पाको सीमा क्षेत्रमा बाघ देखिएको थियो । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेत्रमा जैविक विविधताबारे गरेको संयुक्त अध्ययनले कपिलवस्तुसँगै रूपन्देही र पाल्पामा पाटे बाघ रहेको देखाएको थियो । पोथी बाघ रूपन्देही र पाल्पाको सीमा क्षेत्रमा एकभन्दा बढी ठाउँमा देखिएको र त्यसभन्दा करिब ४० किलोमिटर पश्चिममा कपिलवस्तुको उत्तरी क्षेत्रमा भाले बाघ देखिएको अध्ययनमा सहभागी बाघ विशेषज्ञ डा. बाबुराम लामिछानेले बताए । सन् २०२२ को राष्ट्रिय गणनाअनुसार नेपालमा पाटे बाघको संख्या ३ सय ५५ पुगेको छ ।
