नगरपालिकाको भवनमा भूमिगत पार्किङ, २६ कोठा, दुई वटा लिफ्ट, कार्यक्रम हललगायत सुविधा रहेका छन्
भैरहवा — सिद्धार्थनगर नगरपालिकाको नयाँ प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले भवनमा अंकित शिलालेख अनावरण गरेर भवन उदघाटन गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले गत मंसिर २४ गतेदेखि नयाँ भवनबाट सेवा प्रारम्भ गरिए पनि निर्वाचनलगायत कारणले उद्घाटनमा ढिलाइ भएको बताए । उनका अनुसार २०७८ असार २४ गते स्काई रामसागर जेभीसित निर्माण सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०८० असोजमा निर्माण सकिनु पर्थ्यो । निर्धारित मितिमा काम सम्पन्न नभएपछि २०८२ असोज ३ गते भवन निर्माण पूरा भएको उनले बताए ।
उनका अनुसार चार कठ्ठा क्षेत्रफलमा फैलिएको भवन निर्माणमा २३ करोड ९२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । नगरपालिकाको भवनमा भूमिगत पार्किङ, २६ कोठा, दुई वटा लिफ्ट, कार्यक्रम हललगायत सुविधा रहेका छन् । ‘अझै इन्टेरियर डिजाइनको काम बाँकी छ,’ थापाले भने, ‘नयाँ भवनबाट कसरी चुस्त सेवा प्रभाव गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं ।’ सेवाग्राहीलाई कुनै मर्का नपर्नेगरी सेवा प्रदान गर्न कार्यालय भवनलाई अझै सहज बनाइने उनले बताए ।
सिद्धार्थनगरका पूर्व प्रमुख हरि अधिकारीले आफ्नो पालामा शिलान्यास भएको भवनको उदघाटन गरिएकोमा खुसी व्यक्त गरे । नगरपालिका पूर्वाधारयुक्त भइसकेकाले नागरिकले सामाजिक सञ्जालमा गुनासो गर्नेभन्दा कार्यालयमा आएर आफ्ना भनाइ राख्नुपर्ने उनले बताए । नगरपालिकाका सेवा सुधार र सर्भिस प्रवाह प्रभावकारी तुल्याउन स्थानीय बासिन्दाले पनि सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । सेवाग्राहीसित गुनासोमात्र नगर्न अनुरोध गरे ।
नगरपालिकाकी उपप्रमुख अधिकारीले स्थानीयको योगदान र सहयोगले नै नगरपालिका अहिलेसम्म सफलतापूर्वक अगाडि बढिरहेको बताइन् । ‘तर, अधिकार माग गर्दै गर्दा कर्तव्यको पनि ख्याल गर्नुपर्छ,’उनले भनिन्, ‘नगरपालिकालाई गुनासोरहित बनाउन नागरिकको ठूलो भूमिका छ ।’
नगरप्रमुख खाँले नगरपालिका स्थानीयका समस्या हल गर्दै स्वच्छ र सफा नगर बनाउन क्रियाशील रहेको जनाउँदै सहकार्यका लागि स्थानीय बासिन्दा र सरोकारवालासित आग्रह गरे । नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न पनि आधुनिक पूर्वाधार आवश्यक रहेको उनले बताए । ‘अब हाम्रो ध्यान कर्मचारी र जनप्रतिनिधि मिलेर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नमा केन्द्रित हुनेछ,’उनले भने, ‘नयाँ भवनबाट प्रविधिको उपयोग गरेर सेवा दिइनेछ ।’
