प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका- ४ थापल खर्क निवासी ८१ वर्षीय कुलबहादुर घर्तीमगर छन् ।
काठमाडौँ — चरेस मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तलाई रोल्पा प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दोषी ठहर पछि फरार भएका ८१ वर्षीय बृद्धलाई रोल्पा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका- ४ थापल खर्क निवासी ८१ वर्षीय कुलबहादुर घर्तीमगर छन् । घर्ती मगरविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०५९ माघ १८ गते लागुऔषध (चरेस) मुद्दामा ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फैसलापछि पनि फरार रहँदै आएका थिए ।
उनलाई प्रहरीले घटनाको झन्डै साढे दुई दशकपछि उनकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको विशेष टोलीले उनलाई आइतबार राति करिब ९:४० बजेको समयमा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले घर्तीमगरलाई पक्राउ गरिएको र सोमबार रोल्पा जिल्ला अदालतमा बुझाइएको बताए ।
'अदालतको आदेशअनुसार कैद र जरिवाना भुक्तानका लागि उनलाई कारागार कार्यालय रोल्पामा चलान गरिएको छ', सूचना अधिकारी नेपालीले बताए । लामो समयदेखि न्यायको कठघरा बाहिर रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले यो घटनामा सफलता हात पारेको रोल्पाका डिएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए ।
