आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
What you should know
काठमाडौँ — प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा २२ घरगोठ जलेर नष्ट भएका छन्। गएराति करिब १२ बजे लागेको आगोले स्थानीयका ८ घर र १४ गोठ जलेर नष्ट भएको ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष अमर रेस्मी मगरले जानकारी दिए।
ऐरावती गाउँपालिका–१ छेडाघाट निवासी लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सल्किएको आगोले स्थानीय १३ जनाको घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए।
आगलागीबाट देवान सिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ र लक्ष्मण रानाको गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस्तै इश्वरी रानाको कच्ची घरसँगै भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न तथा ३ गोरु र १५ बाख्रा जलेर मरेका छन्।
स्थानीय रमेश घर्तीको १ घर र १ गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। साथै ६ बाख्राको मृत्यु भएको, भाँडावर्तन, लत्ताकपडा, आधा तोला सुन र नगद ५० हजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ओमबहादुर रेस्मी मगरको १ घर र २ गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् भने ३३ बाख्रा जलेर मरेका छन्। साथै नगद ७१ हजार ५०० पनि जलेर नष्ट भएको छ।
यस्तै भूपाल रोकाको १ घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने १८ बाख्रा र १ बाख्रा जलेर मरेका छन्। नगद २ लाख र आधा तोला सुन पनि जलेर नष्ट भएको छ।
गुमा रजालीको १ घर र १ गोठ, बलबहादुर रजालीको १ घर र १ गोठ, झबिन्द्र रजालीको १ घर र १ गोठ, घनबहादुर रानाको १ घर र १ गोठसँगै १५ बाख्रा, २ गोरु र ४ कुखुरा जलेर मरेका छन्। देवबहादुर रजालीको १ गोठ र १५ बाख्रा जलेर मरेका छन्। यस्तै डिला रजालीको १ गोठ जलेको, १ बाख्रा घाइते भएको र २ गोरु आगलागीमा परी मरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
इलाका प्रहरी कार्यालय बिजुवार, प्रहरी चौकी दाङवाङ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीसहित ३० जना प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयको सहयोगमा बिहान करिब ७ बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
