सिलुवा र जल्पा स्वास्थ्य चौकीमा नयाँ भवनबाट सेवा स‌ंचालन

नवनिर्मित भवनको उद्घाटनसँगै सिलुवा र जल्पाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ ।

चैत्र २१, २०८२

माधव अर्याल

Services are being provided from new buildings at Siluwa and Jalpa health posts

What you should know

पाल्पा — पाल्पाको सिलुवा र जल्पा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवनबाट सेवा संचालनमा आएको छ । नवनिर्मित भवनको उद्घाटनसँगै सिलुवा र जल्पाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ ।  

पूर्वखोला–२ जल्पाको स्वास्थ्य चौकी भवन २ करोड ६ लाख लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । संघीय सरकारबाट १ करोड ८७ लाख, लुम्बिनी प्रदेश सरकारको १५ लाख र गाउँपालिकाको ४ लाख रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । लुम्बिनी प्रदेश सरकारले बाँकी काम सम्पन्न गर्न थप २५ लाख बजेट विनियोजन गरेर काम जारी छ । 

जल्पामा नवनिर्मित भवनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु र गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले उद्घाटन गरे । यसैगरी सिलुवा स्वास्थ्य चौकीको भवनका लागि संघीय सरकारको १ करोड ६५ लाख ५३ हजार खर्च भएको छ ।

२ करोड १२ लाख ६६ हजार लागत अनुमान रहे पनि निर्माण व्यवसायीले २२.१५ प्रतिशत घटेर काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । सिलुवा स्वास्थ्य चौकी भवनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, अर्थ उद्योग तथा पर्यटन समितिका सभापति तथा पाल्पा निर्वाचन क्षेत्र १ (१) का लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठ र गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले उद्घाटन गरे ।

सिलुवा स्वास्थ्य चौकी २०५१ सालमा उपस्वास्थ्य चौकीको रुपमा स्थापना भएको हो । यसअघि १७ वर्षसम्म जनमार्ग मावि मस्लाङनजिकै रहेको भवनबाट सेवा प्रवाह गरेको वडाध्यक्ष गिरिमान आलेले बताए । २०६८ सालमा उपस्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तारोन्ति भई पछिल्ला वर्ष दार्सीङ्भन्ज्याङमा सानो टहरामा संचालनमा थियो ।

स्वास्थ्य चौकीमा स्तरोन्नित भएको १२ वर्षपछि मापदण्ड अनुसारको भवन निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी प्रमुख रुपेशकुमार मण्डलले बताए । यहाँ सिलुवा स्वास्थ्य चौकी र सिलुवा सामुदायिक स्वास्थ्य इकाई तामाखानी रहेको छ । यी स्वास्थ्य संस्थामा नौ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगी छन् । वडामा ११ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully