विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर

गुल्मीस्थित घमिर खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना एवं वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट सेवा लिएका १३ सयमध्ये १ सय ३८ जनाले भिडियो एक्सरे र १ सय ५ जनाले ईसीजी परीक्षण गराएका थिए ।

चैत्र २१, २०८२

सन्तोष महतारा

Free health camp with specialist doctors

गुल्मी — जिल्लामा सञ्चालित विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिका-७, घमिरमा शनिबार युवाहरूको सक्रियतामा शिविर सञ्चालन भएको हो ।

यहाँस्थित घमिर खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको क्लबका सचिव गोविन्द कार्कीले बताए । शिविरबाट सेवा लिएका मध्ये १ सय ३८ जनाले भिडियो एक्सरे तथा १ सय ५ जनाले ईसीजी परीक्षण गराएको उनले बताए ।

शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन गोल्ड मेडलिस्ट विशेषज्ञ डा. सुमन आचार्य, नाक, कान र घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, एमडीजीपी डा. सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे र आशिष भूर्तेलसहितका डाक्टरबाट उपचार भएको थियो । शिविरमा ईसीजी, भिडियो एक्सरे र नि:शुल्क औषधि वितरण भएको थियो ।

क्लबका अध्यक्ष सुमन पन्थीका अनुसार आर्थिक अभावसहित विभिन्न कारणले उपचारका लागि अन्यत्र जान नसक्नेका लागि र गाउँमै विशेषज्ञ डाक्टरसहितको सुविधा प्रदान गर्न शिविर सञ्चालन गरेको बताए । 'युवाहरूको क्लब खेलकुद र सांस्कृतिक मनोरञ्जनलाई मात्रै भन्ने बुझाइ थियो,' उनले भने, 'हामीले समाजका लागि पनि हो भन्ने उदाहरण दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।' उनले लाभान्वित सबैलाई सेवा लिएकामा धन्यवाद दिँदै रोग पहिचान भएर थप उपचार आवश्यक रहेमा सहजीकरण गर्ने पनि बताए ।

सन्तोष

Link copied successfully