पानीको अभावले वन्यजन्तु बस्ती पस्न थालेपछि नवलपरासीका सामुदायिक वनमा कृत्रिम पोखरी र सौर्य ऊर्जाबाट बोरिङ जडान गरी पानीको व्यवस्थापन गर्न थालिएको छ।
What you should know
परासी — जलवायु परिवर्तन र प्राकृतिक स्रोतको अव्यस्थित उत्खनन्ले वनभित्रका ताल र सिमसार क्षेत्र सुक्दै गएका छन् ।
केही वर्ष अगाडिसम्म वन्यजन्तुकालागि आहाल खेल्न पर्याप्त हुने सिमसार, घोल र ताल अहिले जनावरका लागि पिउने पानी पनि नहुने अवस्था आएको छ । जसको कारण पानी र आहारको लागि वन्यजन्तु बस्ती पस्दा मानवीय र खेतीपातीमा क्षति पुग्ने गरेको छ ।
पूर्वी र पश्चिम नवलपरासीमा वन क्षेत्रमा पानीको स्रोत जोगाउन, डढेलो लाग्दा आगो नियन्त्रणको लागि पानीको प्रबन्ध गर्न कृत्रिम पोखरी निर्माण गरेर सिमसार क्षेत्रको संरक्षण गर्न थालिएको छ ।
उपभोक्ता र सरोकारवालाले जिल्लाका विभिन्न सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा पोखरी बनाएर सिमसार संरक्षणको प्रयास गरिरहेका हुन् । यसरी निर्माण गरिएका कृत्रिम पोखरीले सुक्खायाममा डढेलो नियन्त्रणका लागि पानीको स्रोत हुने र जंगली जनावर तथा चौपायालाई पनि सहज हुने अपेक्षा गरिएको छ ।
पश्चिम नवलपरासी जिल्लामा मात्र ३५ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ८ वटा सामुदायिक वनभित्र एक–एक वटा र वन क्षेत्र भन्दा बाहिर ३ वटा कृत्रिम पोखरी निर्माण गरिएको हो । यसअघि २४ वटा पोखरी र पानीको स्रोत व्यवस्थापन गरिसकेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीले बताए ।
पानीको अभाव हुँदा गर्मीयाममा वन्यजन्तु र चौपाया आहाराको खोजीमा बस्ती छिर्ने गरेको र वनमा डढेलो लाग्दा निभाउन पानीको अभाव हुने भएकाले यस्तो योजना अगाडि सारिएको हो । ‘वनभित्र रहेका सिमसार र पानीको स्रोत सुक्दै जाने क्रम छ । केही वर्षदेखि नै पानीका स्रोत संरक्षणसागै नयाा पोखरी निर्माण गरिरहेका छौं,’ डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले भने, ‘यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने र वन संरक्षणसँगै जैविक विविधता जोगाउने लक्ष्य राखेका छौं ।’
बर्दघाट र सुनवलमा केही वर्षअघि नमुना परियोजनाको रुपमा निर्माण गरिएका कृत्रिम पोखरीको उपयोग र प्रभाव राम्रो भएपछि थप पोखरी निर्माण गरिएको हो । वन कार्यालय र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमले योजना सञ्चालन गर्दै आएको छ । सिमसार क्षेत्रमा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई खानेपानीको अभाव र आहालका लागि पूर्वी नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वनले बोरिङ गाडेर पानीको व्यवस्थापन गरेको छ।
कावासोती नगरपालिका–१३ मा वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ गाडेर पानीको व्यवस्थापन गरेको हो । केही वर्ष अगाडिसम्म सुक्खा मौसममा पनि पानी प्रशस्त हुने सेन्चुरी घोलमा अहिले हिउँदमा पानी सुक्न थालेपछि बोरिङ गाडेर घोलमा पानी हाल्ने गरिएको सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए । ‘सिमसार क्षेत्र बर्सेनि सुक्दै गएका छन् । पानी नहुँदा वन्यजन्तु आहाल खेल्न र खानेपानीको लागि स्थान परिवर्तन गर्ने गर्छन्,’ उनले भने,‘अघिल्लो वर्ष जेनेरेटरमार्फत तानेर पानीको व्यवस्था गरिएको थियो । अहिले बोरिङ भएपछि धेरै सहज भएको छ ।’
सौर्य ऊर्जाबाट स्वचालित रुपमा बोरिङ घाम लागेको समयमा आफैं सञ्चालन हुने र रातको समयमा बन्द हुने गर्छ । सिमसारहरुमा पानी सुकेपछि वन्यजन्तु आहारा र पानीका लागि बस्ती पस्ने तथा बासस्थान परिवर्तन गर्ने गर्छन् । यो क्षेत्रका अन्य सामुदायिक वनले पनि वन्यजन्तुको लागी पानीको प्रबन्ध गर्न सौर्य उर्जाबाट चल्ने बोरिङमार्फत सिमसार क्षेत्रमा पानीको भरण गर्दै आएका छन् । यहाँ १ सय ४२ फिट गहिराइको बोरिङ गाडिएको छ । बोरिङ गाडिएका घोलमा बाह्रै महिना पानी हुनेछ ।
