सडक क्षेत्र खाली गराउन पटक-पटक सूचना प्रकाशित गरेपछि पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ ।
भैरहवा — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आफ्नो क्षेत्रका सडक फराकिलो बनाउन अतिक्रमित संरचनामा डोजर चलाएको छ । सडक क्षेत्र खाली गराउन पटक-पटक सूचना प्रकाशित गरेपछि पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ ।
४ दिनअघि अन्तिमपटक सडक दायाँबायाँका अतिक्रमित संरचना हटाउन र पेटी खाली गराउन सूचना प्रकाशित गरेको थियो । कार्यवाहक नगर प्रमुख कल्पना हरिजनद्वारा हस्ताक्षरित सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम सामुदायिक तथा सार्वजनिक सम्पतिको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले नगरपालिकाका वडा नम्बर १ देखि १३ भित्र रहेका बाटो वा सडक पेटी खाली गराउन भनिएको छ ।
तोकिएको समयसीमाभित्र सडक पेटी खाली नगरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख छ । कार्यवाहक नगरप्रमुख हरिजनले पटक-पटक सूचित गर्दा पनि अटेर गरेकाले डोजर चलाएर संरचना हटाउनु परेको बताइन् । यस्ता संरचनाले बटुवा र सवारी चालक मर्कामा परेको र नगरको सौन्दर्यमा असर गरेको बताइन । ‘एकातिर नगरपालिकाभित्रका सडक अवरोध हटाउनु थियो,’उनले भनिन्, ‘अर्कोतर्फ नगरपालिका क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्नु पनि उद्देश्य रहेको छ ।’
उनका अनुसार बिहीबार वडा नम्बर २ को केवटलियादेखि अर्दौलीसम्म बाटोमा रहेका संरचना हटाइएको छ । यस क्रममा सडकमा रहेका घर, टहरा र अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । ‘लुम्बिनी सांस्कृतिक नगरपालिकामा विश्वभरबाट पर्यटक आउँछन्,’ उनले भनिन्, ‘त्यसैले नगरलाई सफा र अवरोमुक्त बनाउन डोजर चलाउनु परेको हो ।’
