सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रहरी सक्रिय, नागरिक सहायता कक्ष निर्माण सम्पन्न ।
बुटवल — सरकारी सेवा प्रवाहमा बिचौलियाको काम गरेको भन्दै यातायात व्यवस्था कार्यालय, बुटवलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिने दुई जनालाई सादा पोसाकमा निगरानी गरेका प्रहरीले बिहीबार पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटा स्थायी घर भएका न्यु हिमाल ड्राइभिङ इन्स्टिच्युटका संचालक सरोज खनाल र गुल्मीको रेसुंगा नगरपालिका–९ स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने छत्रभूमि अनलाइन सेवाकी संचालक ३७ वर्षीया कुसुम मरासिनी रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । ‘अन्य सरकारी कार्यालयहरुमा पनि निगरानी बढाएका छौं,’ उनले भने, ‘सार्वजनिक सेवा प्रवाहमा नागरिक सहजता प्रहरीको प्राथमिकतामा छ ।’ प्रहरीले भ्रष्टाचार र अनियमितता गर्नेलाई कडा निगरानी सुरु गरेको पनि उनले बताए ।
