भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिए ।
What you should know
नेपालगन्ज — बाँकेको कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा मृत फेला परेकी २२ वर्षीया सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ ।
भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिए ।
‘पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण जलन नै हो भन्ने पुष्टि भएर आएको छ । जिउँदोमा नै जलेको देखिएको छ । पोस्टमार्टम रिपोर्टमा शरीरको बाहिर र भित्र कुनै चोट देखिएको छैन । अब मृत्युबारे थप अनुसन्धानका लागि बाटो खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमख जीसीले भने, ‘सिर्जनाले घटना भएको दिन ११ बजेर २१ मिनेटमा केटाको आमालाई फोन गरेको पाइएको छ । यद्यपि घटना कसरी भयो, कसको कस्तो संलग्नता छ भन्ने कुरा अनुसन्धान पूरा भएपछि मात्रै भन्न सकिने हुन्छ ।’
नेपालगन्ज–८, रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जना 'लिभिङ टुगेदर'मा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब पचास मिटरको दूरीमा आगोले जलेको अवस्थामा भेटिएपछि आफन्तले आरिफलगायत उनका परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । आरिफले नै हत्या गरेको सिर्जनाका आफन्तले आरोप लगाउँदै आएका छन् ।
घटनापछि भागेर भारत पुगेका आरिफलाई प्रहरीले घटना भएको अर्को दिन नै पक्राउ गरिसकेको छ । आरिफसँगै उनकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जाहेरीमा नाम उल्लेख भएका थप केही व्यक्तिको पनि खोजी भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरू लिभिङ टुगेदरका रूपमा बस्दै आएका थिए । मृतक विगत २ वर्षदेखि मो. आरिफ ढपालीसँग लिभिङ टुगेदरमा नेपालगन्ज–८ रानीतालस्थित कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । तर उनीहरूबीचको सम्बन्ध राम्रो थिएन । विवाद बढ्दै जाँदा कहिले वडा त कहिले प्रहरीकहाँ सिर्जना पुगिरहन्थिन् । शनिबार प्रहरीकहाँ गएका उनीहरू मिलापत्र गरेर फर्किएका थिए । मिलापत्र भएकै राति उक्त घटना भएको थियो ।
शनिबार राति ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिला जलेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । सिर्जनालाई गम्भीर रूपमा जलेको अवस्थामा फेला पारिएको थियो । घाइते सिर्जनालाई तत्काल उद्धार गरी भेरी अस्पताल पुर्याइएकामा उपचारकै क्रममा आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
