पत्ता लगाउने दर कमी हुँदा क्षयरोगी उपचारको दायरा बाहिर

समुदायमा आधारित सिबि (डट्स) र समुदायमा खोजपडताल कार्यक्रम बाँकी नै रहेको शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

चैत्र १९, २०८२

माधव अर्याल

Low detection rates leave TB patients outside the scope of treatment

पाल्पा — २०८०/८१ मा तानसेन नगरपालिकालाई लुम्बिनी प्रदेश सरकारले क्षयरोगमुक्त पालिका कार्यक्रम लागु गरेको थियो । २०८१ बैशाखमा २७ लाख बजेट प्राप्त भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । तीन महिनामा १ लाख ३१ हजार ४०० तलब, कार्यक्रम व्यवस्थापन १ लाख २५ हजार र क्षयरोग खोजपडतालमा १ लाख २० हजार खर्च भयो । 

२०८१/८२ मा १४ लाख प्राप्त भएको थियो । तलबमा ५ लाख ६९ हजार ४००, माइक्रोप्लानिङमा २ लाख ३४ हजार, सक्रिय क्षयरोग खोजपडताल १ लाख १८ हजार, युवा परिचालन कार्यक्रम १ लाख ३१ हजार, वडास्तरमा सचेतना ९३ हजार ५०० र कन्ट्याक्ट स्क्रिीनिङमा २२ हजार, समुदायमा आधारित सिबि (डट्स) मा ३५ हजार खर्च भएको छ । यसरी हेर्दा क्षयरोगमुक्त पालिका कार्यक्रममा पहिलो वर्ष ३ लाख ७६ हजार ४०० र दोस्रो वर्ष १२ लाख ३ हजार ७०० खर्च भएको छ ।

चालू आर्थिक वर्षमा पनि ७ लाख बजेट रहेको शाखाले जनाएको छ । सक्रिय क्षयरोग खोजपडतालका लागि १ लाख २५ हजार, कार्यक्रम समिक्षाका लागि ३८ हजार, कन्ट्याक्ट स्क्रिीनिङमा ३२ हजार गरी १ लाख ९५ हजार बजेट रहेको छ । समुदायमा आधारित सिबि (डट्स) र समुदायमा खोजपडताल कार्यक्रम बाँकी नै रहेको शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । क्षयरोगमुक्त पालिका कार्यक्रम लागू गरिए पनि गतवर्ष तानसेनमा क्षयरोगबाट ६ जनाको मृत्यु भएको थियो ।

तिनाउ गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा कम्युनिटि डट्स कार्यक्रम कार्यक्रम सञ्चालन, र महानगर, उपमहानगर तथा नगरपालिकाका स्वास्थ्यकर्मीहरूलाई क्षयरोग मोडुलर तालिमका लागि २४ हजार, समुदायलाई क्षयरोगसम्बन्धी अभिमुखिकरण एवम् घरदैलो क्षयरोग खोजपडताल कार्यक्रम अन्तर्गत क्षयरोगका जोखिम समूह तथा स्वास्थ सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम, घरपरिवारका सदस्यहरूको सम्पर्क परीक्षण, एवम् पाँच वर्ष मुनिका बालबालिकामा क्षयरोग रोकथाम सम्बन्धी टी.पि.टी. कार्यक्रमका लागि ८९ हजार, आकस्मिक अवस्थामा औषधि एवम् ल्याब सामग्री ढुवानी, रेकर्डिङ तथा रिपोर्टिङका लागि फर्म फरमेट छपाइ, ई–टि.बि रजिस्टर अध्यावधिक, विश्व क्षयरोग दिवस सम्बन्धी कार्यक्रम, स्थलगत अनुशिक्षण तथा सुपरीवेक्षण, क्षयरोगका कार्यक्रमको अर्ध वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषणका लागि १ लाख रहेको थियो । 

चालू आर्थिक वर्षमा आकस्मिक अवस्थामा औषधि एवम् ल्याब सामग्री ढुवानी र स्थलगत अनुशिक्षण तथा सुपरीवेक्षण तथा क्षयरोग कार्यक्रमको योजना तर्जुमा तथा कोहर्ट विश्लेषणका लागि ९५ हजार र क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम र पीबीसी बिरामीका घरपरिवारका सदस्यहरुको सम्पर्क परीक्षणका लागि १ लाख ५ हजार रहेको स्वास्थ्य शाखाका प्रमुख कृष्ण कार्कीले बताए ।

तर तिनाउमा गतवर्ष ५ जनाले क्षयरोगबाट ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षमा पनि १ जनाको मृत्यु भएको तथ्यांक छ । तानसेन नगरपालिका र तिनाउ गाउँपालिका मात्र होइन, जिल्लाका १० वटै स्थानीय तहमा उस्तै कार्यक्रम सञ्चालनमा छन् । 

Low detection rates leave TB patients outside the scope of treatment

हरेक वर्ष कार्यक्रम सञ्चालन भए पनि क्षयरोगीहरुको संख्या घट्न नसकेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुकप्रसाद पोखरेलले बताए । उनका अनुसार जिल्लामा क्षयरोग पत्ता लगाउने दर सरकारी लक्ष्यभन्दा निकै न्यून देखिएको छ । जसले समुदायमा अझै ठूलो संख्यामा संक्रमितहरू उपचारको दायरा बाहिर रहेको पुष्टि गर्ने उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार पाल्पामा प्रतिवर्ष ५३३ नयाँ बिरामी पत्ता लाग्नुपर्ने हो,’ उनले भने, ‘गत आर्थिक वर्षमा ३२२ जना मात्र फेला परेको छ ।’ 

यो तथ्याङ्कले वार्षिक २ सय ११ जना क्षयरोगीहरू अझै पनि पहिचान हुन सकेका छैनन् । सबै स्थानीय तहमा बजेट विनियोजन भएको छ । तर अघिल्ला दुईवर्ष २५/२५ जना क्षयरोगका बिरामीले ज्यान गुमाएका छन् । 

क्षयरोगीका नयाँ बिरामी पत्ता लगाउने दर कमी हुँदा उनीहरूबाट अन्य व्यक्तिमा रोग सर्ने जोखिम उच्च रहने निमित्त प्रमुख पोखरेलले बताए । विगत तीन वर्षमा प्रतिलाख जनसंख्यामा १३४, १५४ र १३८ जनामा क्षयरोग पुष्टि भएको थियो । उपचारमा सफलता भने क्रमशः ९०, ९५ र ९१ रहेको छ । पछिल्लो तीन वर्षमा २५, १३ र २५ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको निस्दी गाउँपालिकामा बिरामी पत्ता लाग्ने दर प्रति लाख १९८ जना रहेको छ भने रिब्दीकोट गाउँपालिकामा भने यो दर प्रति लाख १२५ जना रहेको छ । निस्दीको सन्तोषजनक र रिब्दीकोटको कमजोर रहेको  उनले बताए । 

जिल्लामा स्थानीय तहमासमेत ७० वटा डट्स सेन्टर रहेका छन् । हरेक पालिकामा प्रयोगशाला सञ्चालनमा छन् । नियमित औषधि सेवन गर्नुपर्ने बिरामीमध्ये पाल्पामा ४ जना सम्पर्क बाहिर छन् । फेला परेका बिरामीमध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा शरीरमा रहेको निष्क्रिय कीटाणु सक्रिय भएर क्षयरोग लाग्ने स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले बताए । 

रोग श्वासप्रश्वासका माध्यमबाट सर्ने र कुल संक्रमितमध्ये ८० प्रतिशतमा फोक्सोको क्षयरोग तथा २० प्रतिशतमा अन्य अंगको क्षयरोग हुने उनले बताए । लगातार खोकी लाग्नु, तौल घट्दै जानु, साँझपख हल्का ज्वरो आउनु, पसिना आउनु, खान मन नलाग्नु र छाती दुख्नु क्षयरोगका मुख्य लक्षणहरू हुन् । विशेषगरी धूम्रपान, मद्यपान र लागुऔषध सेवन गर्ने व्यक्ति, अंग प्रत्यारोपण गरेका र प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौती देखिएको उनले बताए । 

सरकारलाई चुनौती भनेकै सामाजिक हेय भावका कारण क्षयरोगी खुल्न नसक्नु पनि हो । 

अझै पनि गाउँमा पहिलो स्टेजका क्षयरोगी भेटिएका छैनन् । जो बिरामी भएर अन्तिममा बल्ल क्षयरोग जाँच गर्छन् । सरकारले क्षयरोगीको निःशुल्क उपचारको प्रबन्ध मिलाएको छ । क्षयरोगको जोखिम समूहमा जेष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला, कैदी तथा बन्दी, अंग प्रत्यारोपण गरेका व्यक्तिलगायत छन् । बिरामी आफैंले वास्तै नगर्ने, स्वास्थ्यकर्मीले जाँगर नचलाउने र पालिकाका जनप्रतिनिधिले प्राथमिकता नदिएर पनि समस्या भएको उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully