अबउप्रान्त काँक्रीदेखि मैकोटसम्मको ६५ किलोमिटर सडक खण्डमा सहिदमार्ग योजनाका लागि विनियोजित हुने वार्षिक बजेटबाट थप कुनै पनि मर्मत, निर्माण तथा स्तरोन्नतिका काम गर्न नसकिने कुरा पत्रमार्फत स्पष्ट पारिएको छ ।
What you should know
रुकुम पूर्व — रुकुम पूर्वमा निर्माणाधिन सहिदमार्गको आधिकारिक क्षेत्रफल र सडक खण्ड कहाँदेखि कहाँसम्म भन्ने विषय ६ वर्षपछि बल्ल थाहा भएको छ । दाङको कोइलाबासदेखि रुकुम पूर्वको लुकुमसम्म भएकामा अहिलेसम्म काम भने दाङको घोराहीदेखि रुकुम पूर्वको मैकोटसम्म भैरहेको भन्दै सहिदमार्ग योजना कार्यालयले पुथाउत्तरगंगा गाउँपालिकालाई अब उप्रान्त लुकुमसम्म मात्रै काम गर्ने भनेर परिपत्र गरेको छ ।
सहिदमार्ग सडक योजना कार्यालय दहवन रोल्पाले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकालाई ‘रुकुम (पूर्वी भाग)मा पर्ने काँक्री–मैकोट सडक खण्ड सम्बन्धमा’ लेखेको पत्रमा योजनाको कार्यक्षेत्र भनी घोराहीलाई सुरुवाती बिन्दु तथा मैकोटलाई अन्तिम बिन्दु मानी हालसम्म २ सय २० किलोमिटरमा काम भैरहेको उल्लेख छ । साथै पत्रमा विगतमा यस खण्डमा सालवसाली तथा बहुवर्षीय ठेक्का व्यवस्थापन गरी स्तरोन्नति तथा मर्मतसम्भार गरिँदै आएकामा २०७६ जेठ ६ गते नेपाल सरकारले स्विकृत गरेको प्रस्तावित राष्टि्रय राजमार्गहरूको सूची अध्ययन गर्दा कोइलाबास–अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थबाङ–लुकुम भनेर २ सय ११ किलोमिटर उल्लेख भएको बताइएको छ ।
यसकारण अबउप्रान्त काँक्रीदेखि मैकोटसम्मको ६५ किलोमिटर सडक खण्डमा सहिदमार्ग योजनाका लागि विनियोजित हुने वार्षिक बजेटबाट थप कुनै पनि मर्मत, निर्माण तथा स्तरोन्नतिका काम गर्न नसकिने कुरा पनि पत्रमार्फत स्पष्ट पारिएको छ ।
योजना प्रमुख माधवप्रसाद अधिकारीद्वारा हस्ताक्षरित उक्त पत्रअनुसार अब सहिदमार्गको कार्यक्षेत्र रुकुम पूर्वको मैकोटसम्म नभई मध्यपहाडी लोकमार्ग भेटिने स्थान दुमै खोलासम्म हुनेछ र यहाँसम्म मात्रै सहिदमार्ग योजनाको काम हुने स्पष्ट पारिएको छ ।
यसअघि लुकुमसम्म मध्यपहाडी राजमार्ग पर्ने र त्यसभन्दा केही अगाडि काँक्रीबाट उत्तरतर्फ ६५ किलोमिटर खण्डमा चालु आर्थिक वर्षमा सामान्य मर्मत–सम्भार गर्ने र अगामी आर्थिक वर्ष २०८३/८४ देखि अर्को निर्णय वा आदेश नभएसम्म यो सडक खण्डमा सहज यातायात संचालनका लागि गाउँपालिका अथवा प्रदेश सरकारले गर्नुपर्ने योजना प्रमुख अधिकारीले बताएका छन् ।
‘चालु आवका लागि निकै कम बजेट देखिएपछि अध्ययन गर्दै जाँदा काँक्री–मैकोट खण्ड त सहिदमार्गअन्तर्गत नै नपर्ने रहेछ । यसकारण हामीले विगतको गल्तीलाई सच्याउँदै काम गर्नुपर्ने अवस्था आयो,’ अधिकारी भन्छन्, ‘विगतमा कार्यालयका तर्फबाट अध्ययन पुगेन र अहिलेसम्म मैकोटसम्मै काम भयो । तर अब त्यसो गर्न सकिँदैन ।’ 
सरकारद्वारा स्विकृत राजमार्गअन्तर्गत नै नपर्ने खण्डमा कसरी राजमार्गका लागि बजेट विनियोजन भयो र यतिका समयसम्म यो विषय गुमनाम पारियो त ? यस प्रश्नमा योजना प्रमुख अधिकारीले खुलेर जवाफ नदिए पनि कार्यालयका तर्फबाट गम्भीर लापरबाही भएको स्विकार गरे ।
विगत ६ वर्षयता यस खण्डमा भए–गरेका खर्चको विषयमा अब के हुन्छ भन्ने प्रश्न कार्यालयका लागि अप्ठ्यारो विषय बनेको छ भने यता रुकुम पूर्व जिल्ला र पुथाउत्तरगंगा गाउँपालिकाबासीका लागि यो खबर अप्रिय बनेको छ ।
यस विषयमा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले यो खण्ड सहिदमार्गबाट छुट्टै हो भन्नु दुःखद भएको बताउँदै यसलाई सहिदमार्गअन्तर्गत नै कायम गर्ने विषयमा आजै सडक विभागका महानिर्देशकलाई भेटेर आफूहरूले अनुरोध गरेको जानकारी दिए । ‘अहिलेसम्म पूर्वयोजनाअन्तर्गत नै काम भइरहेको छ । यसकारण अब त्यसो हुँदैन भन्नु त हामी सबैलाई अन्याय हुने कुरा हो । यसकारण हामी सहिदमार्गअन्तर्गत नै यो खण्ड पनि कायम हुनुपर्छ भन्नेमा छौं,’ उनले भने ।
सहिदमार्गअन्तर्गत अहिलेसम्म दाङको घोराही देखि रोल्पाको होलेरीसम्म ३१.५ किलोमिटर खण्डमा कालोपत्र गरिएको भए पनि उक्त कालोपत्र उप्केर जीर्ण भइसकेको छ भने होलेरीदेखि रोल्पाकै दारबोटसम्म ६९.५ किलोमिटर कालोपत्र गरिसकिएको छ ।
दारबोटदेखि रोल्पाकै खरिबोटसम्म ४६ किलोमिटरमा कालोपत्र गर्ने काम भइरहेको छ र खरिबोटदेखि रुकुम पूर्वको महतसम्म ग्राभेल गरिएको छ । बाँकी महतदेखि दुमैसम्म चाहिँ सामान्य ट्रयाक मात्रै खोलेर छोडिएको छ । हाल महतबाट खाबाङबगरतर्फ सवारी साधन आवतजावत गर्ने भएकाले महत–दुमै खण्ड संचालनमा छैन । दुमैबाट काँक्री–लुकुमसम्म मध्यपहाडी लोकमार्ग पर्छ भने काँक्रीदेखि मैकोटसम्मको विवादित ६५ किलोमिटरमा पनि ट्रयाक खोलेर कतैकतै स्तरोन्नतिको काम भइरहेको अवस्था छ ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकालाई सडक संजालसँग सहज तरिकाले जोड्नका लागी काँक्री–मैकोट खण्डको अर्थ र महत्त्व धेरै छ । यसकारण पनि यसलाई जिल्लाको ‘लाइफ लाइन’ मानेर विकास गरिनुपर्नेमा उल्टै सहिदमार्गबाट छुट्याउने काम गरिनु अन्यायपूर्ण हुने भन्दै पालिका अध्यक्ष घर्तीले आक्रोश व्यक्त गरेका छन् ।
