जिल्लामा हरेक हप्ता १०० थान भ्याक्सिन आवश्यक पर्ने भए पनि ४० वटा मात्र उपलब्ध हुने गरेको छ ।
परासी — पश्चिम नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लाको पृथ्वी चन्द्र जिल्ला अस्पताल र सरकारी स्वास्थ्य संस्थामा एक सातादेखि भ्याक्सिन अभाव भएको हो ।
जिल्लामा हरेक हप्ता १०० थान भ्याक्सिन आवश्यक पर्ने भए पनि ४० वटा मात्र उपलब्ध हुने गरेको छ । जुन भ्याक्सिन २–३ दिनमै सकिने गरेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका सूचना अधिकारी अप्सा खातुन मिंयाले बताए ।
प्रदेशबाट ११ चैतमा आएको भ्याक्सिन २ दिनमै सकिएको र खोप लगाउने बिरामी आइरहेको उनले बताए ।
अस्पतालमा हरेक दिन १० देखि १५ जनासम्म रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् ।
रेबिजविरुद्धको भ्याक्सिन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र ह“ुदै जिल्लामा आउने गर्छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि बिरामीले निजी स्वास्थ्य संस्थामा गएर चर्को मुल्य तिरेर लगाउनु पर्ने बाध्यता छ ।
