रिब्दीकोट जलेश्वर क्षेत्रमा शिव मन्दिर, ऐतिहासिक मूर्ति, वनस्पति उद्यान, बालउद्यान, १०८ धारा निर्माण लगायतका योजना अघि बढ्दै, ६ करोडको बजेटमा धार्मिक तथा पर्यटकीय विकास भइरहेको छ ।
पाल्पा — १५ औं शताब्दीमा पाल्पा राज्यको राजधानी ‘रिब्दीकोट जलेश्वर’ क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला, ६ को ठिमुरे र ७ को पालङ्मैनादीको संगम रिब्दीकोटमा धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । यसका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेर सडक पहुँच, भौतिक पूर्वाधार निर्माणका साथै पर्यटक लोभ्याउने गतिविधिलाई अघि बढाएका हुन् ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार अहिलेसम्म ६ करोड बजेट लगानी गरिएको छ । ‘रिब्दीकोटको महत्त्वपूर्णस्थल भइकन पनि पछि परेको थियो,’ उनले भने, ‘अब यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पहल अघि बढाएका हौं ।’ रिब्दीकोट जलेश्वर क्षेत्रलाई धर्मिक पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले अग्रसरता लिएको उनले बताए ।
जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम अगाडि बढाएको उनले बताए । यहाँ ११ औं शताब्दीको मूर्तिसमेत रहेको छ । बज्रयोगिनी मूर्ति रहेको जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने अध्यक्ष कार्कीले बताए । ‘५२ धुनीमध्येको जेठो धुनी यहाँ रहेको छ,’ उनले भने, ‘कालीगण्डकी नदीबाट पानी ल्याएर चढाउनेसमेत प्रचलन परापूर्वकालमा रहेको भन्ने जनश्रुतीसमेत रहेको छ ।’
स्थानीय तहको निर्वाचन २०७४ पछि प्रचारात्मक कार्यक्रम भएका थिए । २०७९ पछि भने भौतिक पूर्वाधारलाई जोड दिएर काम अघि बढेको उनले बताए । शिवको ठूलो मूर्ति, मन्दिर पुनः निर्माण, बालउद्यान, सिंढी निर्माण, १०८ धारा निर्माण, शिवलिङ्ग राख्ने, पौवा निर्माण लगायतका योजना अघि बढेका छन् । अहिलेसम्म २०७९ पछि ६ करोड १३ लाखको टेण्डर आह्वान गरेर काम अघि बढेको उनले बताए ।
रिब्दीकोट जलेश्वर सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्छ । जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रुपमै परिचित छ । १५ औं शताव्दीमा पाल्पा राज्य एक चौबिसे राज्य थियो । चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो । खस राज्यको विघटनपछि यो राज्य बनेको थियो । यस राज्यको स्थापना रिब्दीकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा गरेका थिए ।
रिब्दीकोट डाँडामा मौसमी राडर जडान भएको छ । मौसम मापनको लागि सरकारले रिब्दीकोटमा राडर जडान गरेको हो । जलेश्वर क्षेत्रको पहिचानका लागि साविकको कुसुमखोला गाविसले भवनमा टिनको छाना लगाएर कामको सुरुवात गरेको थियो ।
यहाँ अखण्ड धुनी थियो भने पुजारी बस्दै आएका थिए । त्यसका लागि भवन बनेको छ । स्थानीय तहको निर्वाचनपछि जलेश्वरलाई चिनाउन सरसफाइ, घेराबार, विभिन्न विरुवा लगाउने, वनस्पति उद्यानका रुपमा अगाडि बढाउन नर्सरी राख्ने, मन्दिरलाई थप व्यवस्थित बनाउने काम गरेको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जीसीले बताए । पछिल्लो वर्ष मन्दिरको वरपरको क्षेत्रमा विभिन्न जातको विरुवा लगाइएको छ । एभोकाडो, टिमुर, वर, पिपल, तेजपात, लाकुरी लगायतका ३ सय बढी बिरुवा यहाँ लगाइएको हो ।
पछिल्लो पटक गाउँपालिकाले रिब्दीकोटको धार्मिक क्षेत्र जलेश्वर मन्दिर व्यवस्थापन समिति अन्तर्गतको प्रशिद्ध जलेश्वर शिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पिपल लगाइएको थियो । विगतमा गाउँपालिकाको बजेटबाट जलेश्वर क्षेत्रको बाटो, पानी तान्ने पम्प लगायत खानेपानी व्यवस्थापन, मन्दिर वरपरको क्षेत्रको सरसफाइ, विभिन्न जातका बोटविरुवा लगाउने काम गरेको थियो ।
प्रदेश सरकारको बजेटबाट मन्दिर, शिवलिङ्ग लगायत मूर्ति स्थापना भएको जलेश्वर विकास समितिका अध्यक्ष वेणीमाधव आचार्यले बताए । प्रदेशले हाइटेक टनेलका लागि ५ लाख र त्यसमा गाउँपालिकाको एक लाख सहयोग गरेको थियो ।
जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरुको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेन वंशीय राजाले यो क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्णस्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गा छ । यहाँ विभिन्न किसिमका विरुवा लगाउन सुरुवात गरेको कुसुमखोलाका वडाध्यक्ष मनबहादुर अस्लामी मगरले बताए ।
ऐतिहासिक साथै यहाँको वातावरण, वन तथा जैविक विविधतामा समेत परिवर्तन हुनु आवश्यक रहेको अस्लामीले बताए । यसलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न जरुरी छ । रिब्दीकोट क्षेत्रमा पानीका मुहान प्रशस्त छन् । यहाँबाट भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ख्याहा, भैरवस्थान, खस्यौली लगायतका स्थानमा यहीको पानी खाने गरिन्छ ।
पछिल्लो समय यस क्षेत्रको विकासका लागि जलेश्वरधाम शिवपुराण महायज्ञ आयोजना गरियो । गत माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन भएको महायज्ञमा एक करोड ४० लाख आम्दानी भएको थियो । विभिन्न व्यक्ति तथा संघसंस्थाले महायज्ञ अवधिमा दिएको दानबाट सो रकम संकलन भएको आर्थिक उपसमितिका संयोजक प्रमुख कुंवरले बताए । महायज्ञ संचालनमा ८५ लाख खर्च भएको छ । थप खर्चतर्फ शिवलिङ्ग, गौमुखे धारा लगायतका निर्माणको काम भने बाँकी छ ।
‘जलेश्वर धामलाई वैकुण्ठधाम बनाउने पालिकाको योजनालाई साकार बनाउन हामी साथ दिएका छौं,’ कुँवरले भने, ‘महायज्ञ सफलतापूर्वक सम्पन्न भएपछि अझ काम गर्ने दृढ इच्छा पूरा हुने तयारीमा छ ।’ जलेश्वर धाममा धर्मशाला बनाउने, बास बस्न मिल्ने कटेज बनाउने, आयुर्वेद र गुरुकुल शिक्षा संचालन गर्ने, नियमित पूजाको व्यवस्था गर्ने योजना मूल आयोजक समितिका उपाध्यक्ष सम्मर विश्वकर्माले बताए ।
महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने उपसमितिका संयोजक तथा सहयोगीहरुलाई सम्मान गरिएको सचिव दिवाकर अर्यालले बताए ।
