गुल्मीमा विशेषज्ञ डाक्टरसहित नि:शुल्क स्वास्थ्य शिविर हुँदै

शनिबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै चैत २१ गते हुने शिविर मालिका गाउँपालिका-७ घमिरको भानुपोखरा देवीस्थान माध्यमिक विद्यालय प्रांगणमा हुने जानकारी दिइएको छ ।

चैत्र १४, २०८२

सन्तोष महतारा

Free health camp with specialist doctors underway in Gulmi

गुल्मी — गुल्मीमा विशेषज्ञ डाक्टरसहित नि:शुल्क स्वास्थ्य शिविर हुँदैछ । यहाँको मालिका गाउँपालिका-७ घमिरमा घमिर खेलकुद तथा सांस्कृतिक युवा क्लबले बृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

शनिबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै चैत २१ गते हुने शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन गोल्ड मेडलिस्ट डा. सुमन आचार्य, नाक, कान र घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, एमडीजीपी डा. सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे र आशिष भूर्तेलसहितका डाक्टरबाट उपचार हुने क्लबका सचिव गोविन्द कार्कीले जानकारी दिए ।

शिविरमा ईसीजी, भिडियो एक्सरे र नि:शुल्क औषधि वितरण हुनेछ । नि:शुल्क स्वास्थ्य शिविरबाट सेवा लिन सम्पूर्णलाई अनुरोध गरिएको छ । क्लबका अध्यक्ष सुमन पन्थीले क्लबको बचत रकमबाट शिविर आयोजना गर्न लागिएको बताए । 'आर्थिक अभाव र विभिन्न कारणले गाउँमै रोग लुकाएर बस्न बाध्य हुनेहरू पनि छन्,' उनले भने, 'गाउँमै विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा शिविर हुँदैछ, सम्पूर्णले सेवा लिनुहुन अनुरोध छ ।' उनले यसपटक कसैसँग आर्थिक रकम संकलन नगरीकन यसअघि नै क्लबको बचत भएको रकमबाट शिविर आयोजना गरिने बताए ।

शिविर मालिका गाउँपालिका-७ घमिर भानुपोखरा देवीस्थान माध्यमिक विद्यालय प्रांगणमा हुनेछ । घमिरमा हुने शिविरमा मालिका गाउँबासी सबैले सेवा लिने अपेक्षा रहेको क्लबले जनाएको छ ।

सन्तोष

Link copied successfully